नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

Ujyalosandeshonline 11164+ समाचार ( )
११ कार्तिक २०८२, मङ्गलबार

सिरहा । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अघि बढ्न नसकेको बताउनुभएको छ । मन्त्री गुप्ता आज आफ्नो गृहजिल्ला सिरहाको भ्रमणका क्रममा जेनजी समूह लहानले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा देशभर नीतिगत भ्रष्टाचार व्यापक बनेको र त्यसकै परिणामस्वरूप जनतामा असन्तुष्टि र विद्रोहको भावना बढ्दै गएको बताउनुभयो ।

“शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै क्षेत्रको उचित विकास नहुनुको मूल कारण नीतिगत भ्रष्टाचार नै हो”, मन्त्री गुप्ताले भन्नुभयो, “यही भ्रष्टाचारको अन्त्यका लागि भएको जेनजी आन्दोलनमा युवाहरूले बलिदान दिनुपर्ने स्थिति आयो ।” उहाँले जेनजी आन्दोलनलाई पनि भ्रष्टाचारको अन्त्य र रोजगारी सिर्जनाका मागमा केन्द्रित जनआन्दोलनको रूपमा व्याख्या गर्नुभयो । “यो आन्दोलनले युवाको आवाज र चाहना स्पष्ट रूपमा देखाएको छ”, उहाँले थप्नुभयो, “अब सरकारले युवाको सोच र आकांक्षाअनुसार नीति बनाउनुपर्छ ।”   

मन्त्री गुप्ताले लहानमा रहेको खेलकुद क्षेत्रका पुराना विवाद र नीतिगत अनियमितताको विषयमा पनि चर्चा गर्नुभयो । उहाँले बलान पुल नजिकको लहान खेलकुदको सात बिघा पाँच कट्ठा १७ धुर जग्गाको उचित मूल्य नउठेको र त्यसमा पनि नीतिगत भ्रष्टाचार भएको बताउनुभयो । “यो प्रकरणको फाइल म आफैँले खोजी गरिरहेको छु”, उहाँले भन्नुभयो ।  

 गृहजिल्ला आएको अवसरमा मन्त्री गुप्ताले लहान–१५ स्थित जेनजी सहिद विजय चौधरीको परिवारसँग सोमबार भेटघाट गर्नुभएको थियो । सो अवसरमा उहाँले सहिद परिवारलाई सरकारले बेवास्ता गर्न नहुने र सहिदका सपना पूरा गर्ने दिशामा आफू सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । मन्त्री गुप्ताले आगामी दिनमा सिरहाको खेलकुद क्षेत्रको पूर्वाधार निर्माण र युवा कार्यक्रमका लागि विशेष पहल गर्ने आश्वासन दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार