भैरहवा । रुपन्देहीमा सशस्त्र प्रहरीले अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिब ६ लाख ४२ हजार रुपैयाँ बराबरको लत्ताकपडा, किराना सामान तथा दुवानीका साधन बरामद गरेको छ। सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१, बाइपासबाट दुई लाख ३२ हजार चार सय ५० रुपैयाँ बराबरको किराना सामान र एक लाख रुपैयाँको स्कुटरसहित जम्मा तीन लाख ३२ हजार चार सय ५० रुपैयाँ मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो।
त्यसैगरी, नं. २७ गण हे.क्वा. रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर–११, भुजौलीबाट दुई लाख ४० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान र ७० हजार रुपैयाँ मूल्यको मोटरसाइकलसहित जम्मा तीन लाख १० हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ। बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।