काठमाडौं । सूर्यदेवको आराधना गरी मनाइने चारदिने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर भव्य रूपमा मनाइँदैछ। महाभारतकालदेखि सुरु भएको विश्वास गरिएको यस पर्वमा कठोर निराहार व्रत बसि आज साँझ अस्ताउँदो र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ।
निष्ठापूर्वक व्रत बस्नाले दुःख, दरिद्रता र छाला रोग नाश हुने तथा परिवारको कल्याण हुने जनविश्वास छ। तराईबाट सुरु भई राष्ट्रिय पर्वको रूप लिइसकेको यस छठका लागि राजधानीका गुह्येश्वरी, कमलपोखरी लगायतका नदी तथा पोखरी किनारहरूलाई सिँगारेर झकिझकाउ बनाइएको छ।