भैरहवा । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र उपासना गरी मनाइने चार दिवसीय छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले नदी तथा पोखरीका घाटमा भेला भई उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जल अर्पण गरेका छन् ।
सूर्यको पूजाआराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने, परिवारमा सुख, शान्ति र दीर्घायु प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। मूलतः तराई तथा मिथिला क्षेत्रबाट सुरु भई हाल देशका विभिन्न भागमा भव्य रूपमा मनाइने यस पर्वमा सबै समुदायको सहभागिता बढ्दै गएको छ भने यस वर्षदेखि सरकारले सप्तमीका दिन पनि सार्वजनिक बिदा दिएको छ।