मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |
मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |


वन उद्यममा जोडिँदै नवलपुरका महिला

रासस 695+ समाचार ( )
२० असार २०८३, शनिबार

त्रिवेणी (नवलपरासी) । वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले हस्तकला उद्यममार्फत आयआर्जनसँगै स्थानीय रोजगारी सिर्जना गरिरहेका छन् । जिल्लाको देवचुली नगरपालिकास्थित नमूना महिला सामुदायिक वनमा आबद्ध महिलाले थाकल र अम्रिसोको उपयोग गरी विभिन्न हस्तकलाका सामग्री तथा कुचो उत्पादन गर्दै आत्मनिर्भर बन्ने अभियान सञ्चालन गरेका हुन् ।

पहिले वनमा खेर जाने थाकल अहिले महिलाहरूको आम्दानीको मुख्य स्रोत बनेको छ । उहाँहरूले थाकलबाट झोला, टेबल म्याट, टिम्याट, टोपी, गमला, सजावटका सामग्रीलगायत विभिन्न हस्तकला उत्पादन गरिरहेका छन् । त्यस्तै अम्रिसोबाट कुचो उत्पादन गरी स्थानीय बजारदेखि काठमाडौँसम्म बिक्री गर्दै आएका छन् । नमूना हस्तकला सामान उत्पादन महिला समूहकी अध्यक्ष कोपिला रायमाझीका अनुसार केही वर्षअघि थाकलको झोला बुन्ने तालिम लिएपछि सामान्य झोला उत्पादनबाट सुरु गरिएको उद्यम अहिले विभिन्न प्रकारका हस्तकलाका सामग्री र अम्रिसोका कुचो उत्पादनसम्म विस्तार भएको छ । हाल समूहमा करिब २० जना महिला सक्रिय रूपमा आबद्ध रहेका उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार समूहका सदस्यहरूले सामुदायिक वनबाट थाकल सङ्कलन गरी त्यसलाई प्रशोधन गरेर विभिन्न सामग्री उत्पादन गर्छन् । उत्पादनमा संलग्न सदस्यहरूलाई निश्चित पारिश्रमिक प्रदान गरिन्छ भने बाँकी बचत पुनः उद्यम विस्तारमा लगानी गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । उद्यममा आबद्ध खगिसरा लुङ्गेलीले घरधन्दा सकेपछि फुर्सदको समयमा घरमै बसेर थाकलका झोला, टोपी तथा अम्रिसोका कुचो बनाउने गरेको बताउनुभयो । उद्यमबाट हुने आम्दानीले व्यक्तिगत खर्च व्यवस्थापन गर्न तथा परिवारको आर्थिक आवश्यकतामा सहयोग पुगेको उहाँको भनाइ छ । 

भर्खरै कुचो बनाउने तालिम लिनुभएकी कुमारी श्रेष्ठले अन्य महिलाहरू उद्यममार्फत आत्मनिर्भर बनेको देखेपछि आफू पनि समूहमा आबद्ध भएको बताउनुभयो । सीप हासिल गरेपछि आफ्नै मेहनतबाट आम्दानी गर्न सकिने आत्मविश्वास बढेको उहाँले सुनाउनुभयो । समूहले उत्पादन गरेका सामग्रीहरू मुख्यतः घरबास (होमस्टे), पर्यटन क्षेत्र तथा काठमाडौँसम्म पुग्ने गरेका अध्यक्ष रायमाझीले जानकारी दिनुभयो । पछिल्लो समय बजार खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको भन्दै विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा ग्राहक स्वयं माग गर्दै आउने गरेका उहाँले बताउनुभयो ।

नमूना महिला सामुदायिक वनकी अध्यक्ष रिलकुमारी तामाङका अनुसार थाकलबाट हस्तकला सामग्री उत्पादनसँगै व्यावसायिक रूपमा अम्रिसोका कुचो उत्पादनलाई समेत विस्तार गरिएको छ । आफ्नै सामुदायिक वनमा पर्याप्त अम्रिसो नहुँदा अन्य सामुदायिक वनबाट कच्चा पदार्थ ल्याएर उत्पादन बढाइएको उहाँले जानकारी दिनुभयो । वनकी अध्यक्ष तामाङका अनुसार हाल काठमाडौँबाट एकैपटक एक सय वटा हस्तकला सामग्रीको माग आएको छ ।

माग बढ्दै जाँदा समूहमा आबद्ध महिला थप उत्साहित बनेका उहाँले बताउनुभयो । उद्यमलाई व्यवस्थित बनाउन समूह दर्ता गरी संस्थागत रूपमा सञ्चालन गरिएको तामाङले जानकारी दिनुभयो । उद्यम विस्तार गर्ने उद्देश्यले केही दिनअघि मात्रै थप २० जना महिलालाई तालिम प्रदान गरिएको थियो । उक्त तालिम सञ्चालनका लागि डिभिजन वन कार्यालयले सहयोग गरेको उहाँले बताउनुभयो ।

वनमा खेर जाने प्राकृतिक स्रोतको सदुपयोग गर्दै सञ्चालन गरिएको यस उद्यमले महिला सशक्तीकरण, आयआर्जन र स्थानीय रोजगारी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी सुवास अधिकारीले बताउनुभयो । वन पैदावारको दिगो उपयोग मार्फत वातावरण संरक्षणसँगै ग्रामीण महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन डिभिवन वन कार्यालयले यहाँका सामुदायिक वनलाई प्रोत्साहन गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार