भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी पुस दोस्रो साता ‘तेस्रो लुम्बिनी न्यूज फेस्टिवल’ समाचार महोत्सव आयोजना हुने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा पुस १२, १३ र १४ गते तीन दिनसम्म यो महोत्सव सञ्चालन हुन लागेको हो । विशेषगरी सिमावर्ती क्षेत्रका समाचार, सिमापार सम्बन्ध, सम्भावना र लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले यो महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । यसपटकको फेस्टिवलले सिमापार सम्बन्धलाई विशेष प्राथमिकतामा राखेको छ ।
महोत्सवको तयारीबारे जानकारी दिँदै लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले यसपटकको न्यूज फेस्टिवललाई ऐतिहासिक र उपलब्धिपूर्ण बनाउन तीव्र गृहकार्य भइरहेको बताए । "महोत्सवमा नेपाली पत्रकारिता र सञ्चारक्षेत्रका चुनौती र अवसरका बारेमा गम्भीर बहस हुनेछ," अध्यक्ष रायमाझीले भने, "यसका साथै पर्यटन, उद्योग–व्यापार तथा स्थानीय र प्रदेश सरकारको कार्यसम्पादनका विषयमा पनि विश्लेषण र छलफल गरिनेछ ।"
क्लबले यसअघि २०७६ साल मंसिरमा लुम्बिनीमा पहिलोपटक र २०८० सालमा भैरहवामा दोस्रोपटक न्यूज फेस्टिवल आयोजना गरिसकेको छ । पहिलो संस्करणमा मुलुकका ५० जना मूलधारका सम्पादक र देशभरका ३ सय पत्रकारलाई सहभागी गराएर राष्ट्रिय स्तरको बहस सञ्चालन गरिएको थियो ।
तेस्रो समाचार महोत्सवमा नेपालका विभिन्न जिल्लाका पत्रकारहरुका साथै भारतको उत्तर प्रदेश र सिक्किमका पत्रकारहरुको समेत सहभागिता रहने कार्यक्रम संयोजक एवं क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले जानकारी दिए । उनले भने, "नेपाली पत्रकारिता जगतमा यो एक ऐतिहासिक कार्यक्रम हो, यसले पत्रकारिताको समीक्षा गर्दै भविष्यको मार्गचित्र कोर्न सहयोग पुग्ने अपेक्षा गरेका छौं ।"
फेस्टिवलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, जनप्रतिनिधिहरु, प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघका पदाधिकारीहरु, मूलधारका सम्पादकहरु, पर्यटन व्यवसायी, उद्योगी र कर्मचारीहरुको सहभागिता रहनेछ । १२ वर्षअघि स्थापना भएको लुम्बिनी प्रेस क्लबले पत्रकारिताको व्यावसायिक विकास र रचनात्मक कार्यका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । यसपटकको न्यूज फेस्टिवलले समग्र सञ्चार क्षेत्र र लुम्बिनीको पर्यटनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।