लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरु अध्ययनका लागि विदेशी विद्यार्थीको संख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन केन्द्रीत र बुटवल तथा देवदहमा प्रयोगिक बौद्ध अन्तर्गतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहमा विदेशी विद्यार्थीहरु भर्ना भएका छन् ।
विश्वविद्यालयमा चीन, भारत, श्रीलंका, भुटान, म्यानमार, जापान, मलेसिया, ताइवान लगायतका देशका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । सबैभन्दा धेरै चीनका विद्यार्थीहरु रहेका छन् । बुद्धिजम एण्ड नेपाल स्टडिज, बुद्धिजम एण्ड पीस, बुद्धिजम एण्ड हिमालयसहितका विषयमा विदेशी विद्यार्थीको आकर्षण देखिएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले विद्यावारिधिदेखि स्नातक तहसम्मै विदेशी विद्यार्थीहरु भर्ना भएको बताए । ‘विदेशीमा विद्यार्थीले हाम्रो विश्वविद्यालयलाई विश्वास गरेका छन, हामी गुणस्तरीय शिक्षा प्रदानमा प्रतिवद्ध रहेका छौं, उनले भने । विश्वविद्यालयमा हाल १ सय ५७ जना विदेशी विद्यार्थी अध्ययनरत रहेका छन् । नयाँ भइरहेको स्नातक र स्नातकोत्तर तहको भर्नामा पनि विदेशी विद्यार्थीहरुले आवेदन दिएका छन् । विश्वविद्यालयमा कुल ३ हजार विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् ।