भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा उप निर्वाचनको लागि उम्मेदवार आकांक्षी भैरहवा निवासी पार्थिवेन्द्र उपाध्याय विवादमा तानिएका छन् । पत्रकारहरुलाई अनावश्यक आरोप लगाएको भन्दै कारवाहीको माग राख्दै पत्रकारहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई बुधबार ध्यानाकर्षण गराएका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलको नेतृत्वमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष राम प्रसाद आचार्य, नेपाल पत्रकार महासंघ, रुपन्देहीका कोषाध्यक्ष नरेश केसी सहित रुपन्देहीका सक्रिय पत्रकार सम्वद्ध संघ संस्थाहरुले उपाध्यायको भनाई अपत्तिजनक रहेको बताउदै कारवाहीको माग गरेका हुन् ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ बस्ने रास्वपाबाट उम्मेदवार आकांक्षी पार्थिवेन्द्र उपाध्यायले रास्वपा केन्द्रिय कार्यालयमा आफ्नो भनाई राख्ने क्रममा सिंगो मुलुकका पत्रकार र संचार जगतलाई बदनाम गराउने उद्देश्यले अभिब्यक्ति दिएको पत्रकारहरुको आरोप रहेको छ । प्रजिअ टोकराज पाण्डेलाई बुझाएको ध्यानाकर्षण पत्रमा उपाध्यायले दिएको अभिब्यक्तिको सत्यतथ्य बुझि आवश्यक अनुसन्धान गरि कारवाही गर्न पत्रकार सम्वद्ध संघ संस्थाहरुले माग राखेको लुम्बिनी प्रेस क्लबका महासचिव प्रकाश न्यौपानेले जानकारी दिए ।
उम्मेदवार आकांक्षी उपाध्यायले केही दिन पहिला सार्वजनिक भएको भिडियोमा कुनै पनि मिडिया आवश्यक नरहेको, समाचार पढ्दा हासो उठ्ने, सबै पत्रकार ५ हजारमा बिक्ने गरेको लगायतको गम्भिर आरोप लगाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ध्यानकर्षण पत्रमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रमेश पोखरेल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, प्रेस चौतारी नेपाल, रुपन्देहीको अध्यक्ष भगवती पाण्डे, संसदिय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका सचिव दिपक घिमिरे, मर्चवार प्रेस क्लबका अध्यक्ष ह्ृदयराम गुप्ता र मधेशी पत्रकार समाज नेपाल, रुपन्देहीका कोषाध्यक्ष रविन्द्र प्रताप गुप्ताले हस्ताक्षर गरेका छन् ।