भैरहवा । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् ११ जना विद्यार्थीहरु बेलहिया नाका हुदै नेपाल फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार रुपन्देही जिल्ला घर भएका विद्यार्थीहरु विभिन्न समयमा घर फिर्ता भएका हुन् । भारतबाट आ–आफ्नै तरिकाले आएका विद्यार्थीहरुलाई प्रहरीले आवश्यक विवरण लिई घर तर्फ पठाएको छ । प्रहरीले भने घर फर्किएका ११ जना विद्यार्थीहरुको नाम खुलाउन चाहेन । “उहाँहरु आफ्नै तरिकाले फर्किनुभएको हो, अनौपचरिक रुपमा फर्किएकोले थप विवरण दिन मिल्दैन ।” कार्कीले भने
घर फर्किएका ११ जना भने रुपन्देही जिल्लाकै रहेको उनले बताए । त्यस मध्ये २ जना बुटवलका, २ जना भैरहवाका र ३ जना लुम्बिनीका रहेको कार्कीले जानकारी दिए ।
भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि सिर्जित परिस्थिति पछि विश्वविद्यालयले नेपाली विद्यार्थीहरुलाई छात्रावासबाट निस्कासित गरेको थियो ।
यसै विच आफन्तहरुले प्रकृति लम्सालको शवको भैरहवामा अन्त्येष्ठि गर्ने बुझिएको छ । बुधबार नै भुवनेश्वरबाट गोरखपुर सम्म हवाई जहाजमा र त्यहाबाट बेलहिया हुदै भैरहवा सम्म सडक मार्गबाट शव ल्याउने तयारी रहेको छ । त्यहाबाट उनको निवास सिद्धार्थनगर नगर पालिका वडा नम्बर ८ मा ल्याईने र समय भए आजै नभए बिहिबार अन्त्येष्ठि गरिने वडा अध्यक्ष राजनजङ्ग राणाले जानकारी दिए ।