बाँके । बाँकेको जानकी गाउँपालिकाको २०औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६९ करोड ५६ लाख २९ हजार रुपैयाँको बजेट तथा नीति कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादवले प्रस्तुत गर्नुभएको उक्त बजेटमा संघीय तथा प्रदेश सरकारको अनुदानतर्फ ४९ करोड ९६ लाख २९ हजार, आन्तरिक स्रोतबाट २ करोड र राजस्व बाँडफाँडबाट १ करोड ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
विनियोजित रकममध्ये पूर्वाधार विकासमा सबैभन्दा बढी १२ करोड ४५ लाख ११ हजार रुपैयाँ छुट्याइएको छ भने सुशासन एवं संस्थागत क्षमता विकासमा ११ करोड ८ लाख, सामाजिक विकासमा ४ करोड ११ लाख ४४ हजार, आर्थिक विकासमा ४५ लाख ७४ हजार र वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २७ लाख रुपैयाँ व्यवस्था गरिएको छ।
बजेट प्रस्तुत हुनुअघि वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राईले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, रोजगार सिर्जना, पर्यटन, सुशासन तथा प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो। सभामा गाउँपालिकाका प्रवक्ता टिका नाथ यादवले समृद्ध जानकी निर्माणका लागि साझा प्रतिबद्धता आवश्यक रहेको औंल्याउनुभयो भने प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले यो बजेटले समग्र विकास र नागरिकमैत्री सेवा प्रवाहलाई गति दिने विश्वास व्यक्त गर्नुभयो।
योजना शाखा प्रमुख शोभा पौडेलले चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै हालसम्म कुल ३६ करोड ९ लाख १८ हजार ३०६ रुपैयाँ खर्च भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेकाले चालु आर्थिक वर्षभित्रै त्यहाँबाट सेवा प्रवाह सुरु गर्ने तयारी गरिएको छ भने वडा नं. ३, ४ र ५ मा बर्थिङ सेन्टर सञ्चालनको तयारीसमेत पूरा भइसकेको छ।
गाउँसभाको समापन गर्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले सभा सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पारित नीति, कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमार्फत जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले बजेट सर्वसम्मत पारित भएको पुष्टि गर्नुभएको उक्त कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।