‘पुराना दलको परम्परागत ढर्राबाट देश बन्दैन, अबको विकल्प रास्वपा नै हो’

Ujyalosandeshonline 11538+ समाचार ( )
सञ्जय गुप्ता, नवप्रवेशी नेता, राष्ट्रिय स्वतन्त्र पार्टी
१७ पौष २०८२, बिहीबार

रुपन्देहीको क्षेत्र नम्बर १ मा लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय नेता सञ्जय गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ । पुराना राजनीतिक दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको र मुलुकमा सुशासन कायम गर्न असफल भएको निष्कर्षसहित उहाँले नयाँ राजनीतिक यात्रा तय गर्नुभएको हो । एमाले परित्याग गरी ‘घण्टी’ रोज्नुको कारण, अबको राजनीतिक योजना र रास्वपाप्रतिको बुझाइमा केन्द्रित रहेर गुप्तासँग पत्रकार विवेक विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ :

लामो समय एमालेमा रहेर राजनीति गर्नुभयो, अचानक पार्टी परित्याग गरेर रास्वपा रोज्नुपर्ने बाध्यात्मक परिस्थिति कसरी आयो ?

हेर्नुस्, यो अचानक लिइएको निर्णय होइन । मैले लामो समयदेखि एमालेभित्रै रहेर पनि सुधार र परिवर्तनका लागि निकै संघर्ष गरेँ । तर, अहिलेको विद्यमान अवस्थामा पुराना दलहरूभित्र हामीले सोचेजस्तो परिवर्तन सम्भव देखिएन । उहाँहरू अझै पनि परम्परागत ढर्रामै चलिरहनुभएको छ । जनताले खोजेको सुशासन र डेलिभरी दिन पुराना दलहरू पूर्णतः असफल भइसके । त्यसैले, ‘पुराना दलबाट परिवर्तन असम्भव छ’ भन्ने निष्कर्षमा पुगेपछि म नयाँ बाटो रोज्न बाध्य भएको हुँ ।

नेपालमा अरू पनि दलहरू थिए, तर तपाईंले रास्वपा नै किन रोज्नुभयो ?

अहिलेको समयमा नेपालमा पुराना विचारधारा बोकेका दलभन्दा पनि नयाँ र ऊर्जावान् शक्तिले मात्रै देशलाई निकास दिन सक्छन् भन्ने मेरो बुझाइ हो । रास्वपा एउटा राजनीतिक दल मात्र नभएर ‘वृहत् बौद्धिक जमात’ पनि हो । यहाँ गफमा होइन, काम र परिणाममा विश्वास गरिन्छ । यो पार्टीले राष्ट्रिय राजनीतिमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभाव पार्न सक्ने क्षमता राख्छ । देशमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्न र सुशासन कायम गर्न रास्वपाको जुन भिजन र कार्यशैली छ, त्यसले मलाई निकै प्रभावित पारेको छ ।

कतिपयले पद नपाएर वा असन्तुष्टिले पार्टी फेर्छन्, तपाईंको हकमा रास्वपा प्रवेशको स्वार्थ के हो ?

मेरो यसमा कुनै व्यक्तिगत स्वार्थ वा पदको लालसा छैन । म कुनै पद प्राप्तिका लागि रास्वपामा आएको होइन । म देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरण र समतामूलक समाज निर्माणको पवित्र उद्देश्य बोकेर यहाँ आएको हुँ । म तन, मन, धन र पवित्र बचनका साथ देश निर्माणमा लाग्नेछु । मेरो एकमात्र स्वार्थ भनेको अबको पुस्तालाई बस्न योग्य देश बनाउनु हो ।

तपाईंको प्रवेशले रुपन्देही र समग्र तराई–मधेशको राजनीतिमा कस्तो प्रभाव पार्ला ?

तराई–मधेशका जनता पनि अब परिवर्तन चाहन्छन् । उनीहरूले वर्षौंदेखि पुराना दलहरूलाई हेरिसके । अब युवा पुस्ता र आम जनताले खोजेको परिवर्तन रास्वपाबाट मात्र सम्भव देखेका छन् । म सांकेतिक रूपमा ‘घण्टी’ लाई आफ्नो छातीमा लिएर हिँड्न तयार छु । मेरो प्रवेशले पक्कै पनि यस क्षेत्रमा पार्टीको संगठन विस्तार गर्न र वैकल्पिक राजनीतिको अभियानलाई मजबुत बनाउन मद्दत पुग्नेछ भन्ने मैले विश्वास लिएको छु ।

अन्त्यमा, आफ्ना पुराना सहकर्मी र मतदातालाई के भन्न चाहनुहुन्छ ?

म सबैलाई आग्रह गर्न चाहन्छु कि अब पुरानो तरिकाले देश बन्दैन । हामीले भावनात्मक सम्बन्धभन्दा माथि उठेर देशको भविष्यका लागि सोच्ने बेला आएको छ । म हिजो पनि जनताको सेवामा थिएँ, आज वैकल्पिक राजनीतिको यो नयाँ अभियानमार्फत अझ सशक्त रूपमा जनताको माझमा रहनेछु । आउनुहोस्, देश बनाउने यो महाअभियानमा हातेमालो गरौं ।

प्रतिक्रिया

कमल साह १८ पौष २०८२, शुक्रबार

घेरै राम्रो गरनु भयो . युवा बाट मात्र देश को उन्नती र प्रगती सम्भव छ ।

Dolmani Chaudhary १७ पौष २०८२, बिहीबार

Badhai xa uncle hjr lai hami tapai ko saath ma xam

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार