रुपन्देहीको रोहिणी गाउँपालिका–४, औरहवामा अवस्थित श्री जन जागृति आधारभूत विद्यालयको शैक्षिक र भौतिक अवस्था फेरिन थालेको छ । वि.सं. २०५५ सालमा स्थापना भएको यो विद्यालयले लामो समय उतारचढाव व्यहोरे पनि पछिल्लो समय विद्यालयको मुहार फेरिएको छ । विशेष गरी २०८० साल साउनदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएका बबुन्ना गद्दीको नेतृत्व र समुदायको सहयोगले विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । प्रस्तुत छ, विद्यालयमा आएको परिवर्तन, चुनौती र भावी योजनाका विषयमा प्रधानाध्यापक गद्दीसँग विवेक विश्वकर्माले गर्नुभएको कुराकानीको सम्पादित अंश :
तपाईंले यस विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी कहिलेदेखि सम्हाल्नुभयो र विद्यालयको पृष्ठभूमिबारे बताइदिनुस् न ?
मैले २०८० साल साउन १२ गतेदेखि यस विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको हुँ । यो विद्यालयको स्थापना वि.सं. २०५५ साल भदौ १ गते भएको हो । स्थापनाकालदेखि नै विभिन्न आरोह–अवरोह पार गर्दै आएको भए पनि हालका वर्षहरूमा हामीले विद्यालयको शैक्षिक र भौतिक अवस्थामा सुधार ल्याउन निरन्तर प्रयास गरिरहेका छौं ।
तपाईं आइसकेपछि विद्यालयमा के–कस्ता सुधारका प्रयासहरू भएका छन् ?
विगत दुई वर्षयता हामीले विद्यालयमा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्ने, विद्यार्थीहरूका लागि निःशुल्क कक्षाहरूको व्यवस्था गर्ने र अभिभावकहरूलाई विद्यालयमा आमन्त्रण गरी अभिमुखीकरण गर्ने जस्ता कार्यहरू गरिरहेका छौं । यसले गर्दा अभिभावकहरूमा शिक्षाप्रति जागरूकता बढेको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको सामूहिक प्रयासले गर्दा शैक्षिक गुणस्तरमा करिब ६० प्रतिशत सुधार आएको छ ।
विद्यार्थी संख्या र उनीहरूको उपस्थितिमा कस्तो परिवर्तन आएको छ ?
म यहाँ आउँदा विद्यालयमा केवल ८० जना विद्यार्थी अध्ययनरत हुनुहुन्थ्यो । तर, अहिले हाम्रो र अभिभावकको प्रयासले विद्यार्थी संख्या बढेर १६५ पुगेको छ । संख्या मात्र बढेको छैन, विद्यार्थीहरूको नियमित उपस्थितिमा पनि उल्लेख्य सुधार आएको छ ।
विद्यालयको भौतिक पूर्वाधारको अवस्था कस्तो छ ? घेरा पर्खाल (कम्पाउण्ड) को समस्या समाधान हुँदैछ कि छैन ?
भौतिक रूपमा अझै धेरै काम गर्न बाँकी छ । कक्षा कोठाहरू उपलब्ध भए पनि जीर्ण अवस्थामा छन्, जसको मर्मत आवश्यक छ । फर्निचरको पनि अभाव छ । घेरा पर्खालको अभाव मुख्य समस्याको रूपमा रहेको थियो । यसका लागि प्रदेश सरकार र गाउँपालिकासँग पहल भइरहेको छ । खुसीको कुरा, प्रदेश सांसद आशिष चौधरीले आफ्नो कोषबाट १५ लाख रुपैयाँ उपलब्ध गराउनुभएको छ भने गाउँपालिका अध्यक्षज्यूबाट विगतमा ९ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । यो बजेट व्यवस्थापनमा ताहिर अलीजीको पनि महत्त्वपूर्ण भूमिका छ । आगामी वर्षसम्म घेरा पर्खालको काम सम्पन्न हुने विश्वास लिएको छु ।
शिक्षण सिकाइका लागि जनशक्ति व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
हाल म सहित विद्यालयमा ६ जना शिक्षक कार्यरत छौं । जनशक्ति व्यवस्थापनमा स्थानीय वडा अध्यक्ष तारानाथ यादवज्यूको ठूलो सहयोग रहेको छ । उहाँले आफ्नो तर्फबाट एक जना शिक्षकको लागि वार्षिक पारिश्रमिक उपलब्ध गराउँदै आउनुभएको छ, जसले हामीलाई पठनपाठनमा ठूलो राहत मिलेको छ ।
विद्यालयको आगामी योजना के छ ? कक्षा थप गर्ने सोच बनाउनुभएको छ ?
स्थानीय समुदाय र अभिभावकहरूको माग अनि बढ्दो विद्यार्थी संख्यालाई मध्यनजर गर्दै हामीले कक्षा ७ र ८ थप गर्नुपर्ने आवश्यकता महसुस गरेका छौं । माथिल्लो कक्षा चलाउन विद्यार्थी पर्याप्त भए पनि मुख्य चुनौती भनेको शिक्षक दरबन्दी, कक्षा कोठा र फर्निचरको अभाव नै हो । यी स्रोतसाधनको व्यवस्थापन हुन सकेमा विद्यालयलाई स्तरवृद्धि गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो योजना छ ।
तपाईंसँग विगतमा छिपागढ माविलाई पनि सुधार गरेको अनुभव छ, त्यो अनुभवले यहाँ कत्तिको काम गरेको छ ?
पक्कै पनि । म यसअघि छिपागढ माध्यमिक विद्यालयमा कार्यरत थिएँ । त्यहाँ हामीले कक्षा १० सम्म मात्र रहेको विद्यालयलाई प्लस टु (११ र १२) सम्म विस्तार गरेका थियौं । तत्कालीन मेयर सनोज यादवको १० लाख सहयोगको प्रतिबद्धता र समुदायको साथ लिएर मैले घरदैलो अभियान नै चलाएको थिएँ । त्यहाँको त्यो संघर्ष र सफलताको अनुभवले मलाई यहाँ पनि काम गर्न ऊर्जा मिलेको छ । यहाँ पनि सुरुमा केही असहजता थियो, तर मेरो पुरानो अनुभव र समुदायको विश्वासले गर्दा अहिले विद्यालय सही ट्रयाकमा अघि बढिरहेको छ ।
उत्कृष्ट समाचार , बहुत राम्रो