भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा नर्सको आन्दोलन अन्त्य, सेवा सुचारु

Ujyalosandeshonline 11164+ समाचार ( )
१७ कार्तिक २०८२, सोमबार

भैरहवा । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) मा विगत १४ दिनदेखि जारी नर्स तथा प्यारामेडिक्स कर्मचारीहरूको आन्दोलन टुङ्गिएको छ । नेपाल नर्सिङ संघको आह्वानमा सरकारी सरह तलब लगायत १२ बुँदे माग राख्दै भएको आन्दोलन देशभरका नर्स र स्वास्थ्य मन्त्रालयबीच निजी अस्पतालका स्वास्थ्यकर्मीलाई सरकारीसरह मासिक तलब सुविधा दिने सहमति भएपछि अन्त्य भएको हो । आन्दोलनका कारण डायलाइसिस बाहेक अस्पतालका सबै सेवा ठप्प थिए, जसले गर्दा हजारौं बिरामी मर्कामा परेका थिए ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पीएसले आन्दोलनरत पक्षसँगको छलफलपछि कर्मचारीहरू आ-आफ्नो कार्यक्षेत्रमा फर्किएको र सबै सेवा पूर्ववत् सञ्चालनमा आएको जानकारी दिए । अस्पतालका प्रमुख वित्तीय अधिकृत सुरज पौडेलले स्वास्थ्य सचिवको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धतापछि आन्दोलन टुङ्गिएको बताए । यसअनुसार नर्स, डाक्टर र स्वास्थ्यकर्मीलाई सरकारीसरह तलब सुविधा उपलब्ध गराइनेछ । यो सहमतिले अस्पताललाई आर्थिक भार पर्ने भए पनि बिरामीमाथि कुनै शुल्क नथपिने पौडेलले स्पष्ट पारे।

आन्दोलनरत कर्मचारीहरूले सरकारी तलब स्केल लागू गर्नुपर्ने, पर्याप्त जनशक्ति व्यवस्था, उचित ड्युटी समय, विश्राम र बिदा सुविधा, नर्स तथा प्यारामेडिक्सलाई उचित सम्मान, चेन्जिङ रुम, नर्सिङ रुम, लकरको व्यवस्था, शैक्षिक योग्यता र अनुभवका आधारमा स्तर वृद्धि, जोखिम भत्ता, आमा सुरक्षित कार्यक्रम अन्तर्गत सुविधा र मासिक तलब समयमै उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका थिए । युसिएमएसमा दैनिक ८ देखि ९ सय बिरामी ओपीडीमा, करिब ५० जना इमर्जेन्सीमा आउँछन् भने दैनिक सरदर २० प्रसूति र २५ अन्य शल्यक्रिया हुने गर्छन् । अस्पतालमा २२० नर्सिङ र प्यारामेडिक्स कर्मचारी कार्यरत छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार