भैरहवा । उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीको आयोजनामा भैरहवाको अंचलपुरमा हुने ७ औं लुम्बिनी महोत्सव–२०८२ को तयारी लगभग पूरा भएको छ। 'स्वदेशी वस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔँ' भन्ने मूल नाराका साथ मंसिर ३ गते (भोलि) देखि मंसिर २१ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन सिद्धार्थनगरका मेयर इस्तियाक अहमद खाँ र लुम्बिनी प्रदेशका मन्त्री सन्तोष पाण्डेयले संयुक्त रूपमा गर्नेछन् ।
महोत्सवका मुख्य विशेषताहरू :
- मुख्य आकर्षण : नेपालमै पहिलो पटक भियतनामबाट ल्याइएको ‘जलपरी’ र फिसटनेलको निःशुल्क प्रदर्शन ।
- स्टल्स: उद्योग, कृषि, पर्यटन, र वित्तीय संस्था गरी कुल ३५० स्टलहरू ।
- मनोरञ्जन: मंसिर १४ देखि १६ गतेसम्म कुस्ती प्रतियोगिता तथा दुर्गेश थापा, प्रिति पासवान लगायतका कलाकारहरूको प्रस्तुति ।
- टिकट दर: सर्वसाधारणका लागि रु. १५०, अपांग तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई रु. ५० र ८० वर्ष माथिकालाई प्रवेश निःशुल्क ।
संगठनका अध्यक्ष सचिन रोक्काका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजार प्रवर्द्धन र लुम्बिनी क्षेत्रको पर्यटन विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ।