भैरहवा नाकाबाट ४५ प्रतिशतले बढ्यो निर्यात

रासस 497+ समाचार ( )
२० जेठ २०८२, सोमबार

भैरहवा । रुपन्देहीको भैरहवा नाकाबाट निर्यात व्यापार ४५ प्रतिशत बढीले बढेको छ।चालु आर्थिक वर्षको श्रावण देखि बैशाखसम्म भैरहवा नाका हुँदै १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ४५ दशमलव २२ प्रतिशत वृद्धि रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले बताए। गत आर्थिक वर्ष २०८०/८१ को श्रावण देखि बैशाखसम्म यस नाकाबाट ११ अर्ब ३२ करोडको सामान भारत तथा तेश्रो मूलक निर्यात भएको थियो।

‘विगतका वर्षमा भन्दा अहिले यस नाकाबाट निर्यात व्यापार राम्रो देखिएको छ’, उनले भने,‘यसले केही हद सम्म व्यापार घाटालाई कम गर्न मद्दत पुग्छ।’ चालु वर्षमा भैरहवा नाका हुँदै भन्सारको तथ्यांकमा भटमासको प्रशोधित तेल, सुर्यमुखीको प्रशोधित तेलको निर्यात उच्च देखिएको छ।

भैरहवा भन्सार कार्यालयका अनुसार चालु वर्षको १० महिनामा भटमासको प्रशोधित तेल ४ अर्ब ९३ करोड बढी मूल्यको निर्यात भएको छ। विगतका वर्षमा सबैभन्दा बढी निर्यात हुनेमा एक नम्बरमा सेन्थेटिक यार्न रहने गरेकोमा अहिले भटमासको प्रशोधित तेलले उछिनेको छ। चालु आर्थिक वर्षको दश महिनामा भारत तथा टर्की लगायतका मुलुकमा निर्यात हुँदै सेन्थेटिक यार्न २ अर्ब ८४ करोड ८४ लाख ९६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ।

त्यस्तै १ अर्ब २० करोड २२ लाख ९० हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ। लामो समय देखि रोकिएको सिमेन्ट निकासी एक महिना अघि देखि मात्र सुचारु भएको थियो। खयर कत्थाको निकासी पनि वृद्धि भएको छ। ७७ करोड ३२ लाख ५२ हजार रुपैयाँ बराबरको १० लाख ५० हजार ५ सय ६० किलो खयरकत्था निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

पिना र त्यस्तै बस्तु ७२ करोड ९७ लाख ४३ हजार रुपैयाँ बढीको लाख ७६ हजार ८ सय ५० किलो निर्यात भएको छ। फलाम वा स्टिलका भाँडाकुँडाको निर्यात पनि बढदै गएको छ। फलाम र स्टीलको भाँडाकुँडा अधिकांश भैरहवा बिशेष आर्थिक क्षेत्र(भैरहवा सेज)मा उत्पादन हुने बस्तु हुन्। यी भाँडाकुँडाहरु ३४ लाख ८६ हजार ७ सय १२ किलोग्राम तौल बराबरको ६५ करोड ६८ लाख २० हजार रुपैयाँ बराबरको छन्।

५६ करोड ७० लाख ६९ हजार रुपैयाँ बढी मूल्य बराबरको चाउचाउ, पास्ता २३ लाख ७९ हजार ८ सय ११ किलो निर्यात भएको छ। खोटो रोजिन ४९ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको ३३ लाख ६७ हजार २ सय किलो निर्यात भएको छ।

त्यसैगरी ४७ करोड ८२ लाख ७१ हजार रुपैयाँ बराबरको ४९ लाख १७ हजार २७ किलो बिभिन्न किसिमका जडिबुटीहरु निर्यात भएको छ भने ४० करोड ६४ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरको २२ लाख ४२ हजार ३ सय ६५ लिटर सूर्यमुखी प्रशोधित तेल निर्यात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ।

आयात ९.९९ प्रतिशतले वृद्धि

भैरहवा नाका हुँदै आयात गत वर्ष भन्दा ९.९९ प्रतिशतले वृद्धि भएको छ। चालु वर्षको श्रावण देखि बैशाख सम्म १० महिनामा २ खर्ब १६ अर्ब ४८ करोड रुपैयाँको बिभिन्न सामान आयात भएका छन्। आयात आकार गत आर्थिक वर्ष २०८०/८१को श्रावण देखि बैशाख भन्दा ९.९९ प्रतिशतले बढी रहेको भन्सार प्रमुख रेग्मीले बताए। गत वर्ष यही अवधीमा १ खर्ब ९६ अर्ब ८१ करोड रुपैयाँ बढी मूल्यका सामान आयात भएको थियो।

यो नाका हुँदै सबैभन्दा बढी आयात हुने १० बस्तुहरुमा मोटरसाइकल, जीप, कार भ्यान, पेट्रोल, बिद्युतबाट संचालित जीप, कार भ्यान, शुद्ध फलाम (स्पोञ्ज,फ्रेस आइरन), डबल क्याब पिक अप गाडी, मोबाइल टेलिफोन सेट, एम.एस. विलेट, चकलेट, एलपी ग्यास रहेका छन्। यी वस्तुहरु आयात गर्दा संकलित राजस्वमा मध्ये ४६.९४ प्रतिशत योगदान रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार