भैरहवा । कञ्चन गाउँपालिकाको प्रथम चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कञ्चन गाउँपालिकाको आयोजना र साझा टेलिभिजन एचडीको समन्वय तथा सहजीकरणमा भएको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा कञ्चनका स्थानीय जनताले पालिकाको विकास निर्माण, सुकुम्वासीलाई पुर्जा वितरणको काममा भैरहेको प्रगति, विभिन्न वडाका सडकको अवस्था, कृषि, सिंचाई, शिक्षा, खानेपानी लगायतका बिषयमा चासो ब्यक्त गरेका थिए ।
त्यसैगरी कञ्चनका विभिन्न स्थानमा शान्ति सुरक्षाको लागि अस्थायी प्रहरी पोष्ट स्थापना तथा पछिल्लोसमय सवै पालिकामा समस्या बनिरहेको छाडा चौपायाको व्यवस्थापनका लागि कञ्चन गाउँपालिकाले पहल गर्नुपर्ने माग स्थानीयले राखेको थिए ।
कार्यक्रममा जनताको गुनासो मेटदै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पालिकाका विभिन्न वडामा शान्ति सुरक्षाका लागि भन्दै जनताले अस्थायी प्रहरी पोष्ट तथा बीटका लागि आफूहरुको ध्यानाकर्षण गराएको स्मरण गर्दै त्यसका लागि संघीय सरकारको ध्यानाकर्षण गराएको बताउनु भयो ।
उहाँले छाडा चौपाया ब्यवस्थापनका लागि पालिकाले बजेट छुट्याएको बताउँदै तर यो बिकराल समस्या बन्दै गएकोले यसमा पालिकाहरुको सामूहिक प्रयास जारी रहेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कञ्चनमा योजनाबद्ध विकासको सुरुवात भएको बताउँदै कार्यपालिकाबाट पालिकाको प्रथम पञ्चबर्षीय योजना सिफारिस भैसकेको र अवका पाँच बर्षमा के के काम गर्ने भन्ने कुराको मोडालिटी तयार गर्ने बताउनु भयो ।
उहाँले प्रत्येक बर्षको बजेट विनियोजन गर्दा त्यसै अनुरुप गर्ने बताउँदै योजना बनाउँदा वा बजेट वनाउँदा सरोकारवालासंगको राय सुझाव र परामर्शमा गर्दै आएको उल्लेख गर्नुभयो ।
त्यसैगरी सुकुम्बासी समस्या समाधानमा पालिकाले चासो दिएपनि लालपुर्जा वितरणमा ढिलाई हुँदा जग्गा किनबेचमा समस्या परेको, सडकको लागि बजेट अपुग भएको, कृषि क्षेत्रको लागि मल खादको अभाव प्रमुख समस्या बन्दै गएको सहभागीहरु कञ्चनका स्थानीयले गुनासो गरेका थिए ।
कार्यक्रममा कञ्चन गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा कार्यक्रममा उपस्थित भएकाहरुले यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै यसले जनता र जनप्रतिनिधिबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने धारणा राखेका थिए ।