भैरहवा । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले टुक्रे योजनाहरु भन्दा पनि योजनाहरुको प्राथमिकिकरण आवश्यक रहेको बताएका छन । शुक्रबार भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालाको स्थलगत अवलोकनको क्रममा उनले भोट बैंक जोगाउन टुक्रे योजनाको सट्टा ठोस काम हुने गरि ठोस योजनाको आवश्यकता औल्याएका हुन् ।
उनले सरकारी योजनाहरु सम्पन्न हुन लामो समय लाग्दा यसको आशतीत प्रतिफल नदेखिएको बताए । सिद्धार्थ क्रिकेट रङ्गशालाको उदाहरण दिदै उनले २०४२ सालमा स्थापना भएको रङ्गशाला अहिले सम्म पुरा नहुनु दुखद रहेको बताए । “रङ्गशालाहरु खेलाडीहरुको लागि स्कूल हुन्, हामीले शिक्षाका लागि मात्र स्कूल खोलेर भएन खेलका लागि पनि स्कूल चाहिन्छ ।” थापाले भने “खेलाडीहरुले रङ्गशालाबाटै ज्ञान आर्जन गरि अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रलाई गौरवान्दित बनाउने काम गर्छन ।”
उनले खेल मानव जिवनको स्वास्थ्य संगै राष्ट्रको गौरव र समृद्धि तर्फ जाने बाटो भएको जिकिर गर्दै राज्यले खेलकुदमा समुचित बजेट व्यवस्थापनमा जोड दिए । सभापति थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले खेलकुदको विषयमा राष्ट्रभरिबाट सुझाव लिएको बताउदै यसबारे सम्बन्धित मन्त्रालयहरुसंग छलफल अगाडी बढाईने आवश्वासन दिए ।
सोही कार्यक्रममा बोल्दै समितिको सदस्य रेखा शर्माले भैरहवा जस्तो स्थानमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला जुन गतिमा विकास हुनुपर्ने हो त्यो नभएको पाईएको बताइन । “रङ्गशाला अझै पनि जिर्ण अवश्थामा रहेको हामीले देख्यौं, यसलाई अझै व्यस्थित गर्न यसले बजेट, डेलिगेशन र काम गर्नेहरुको प्रवल इच्छाशक्ति माग गरेको हामीले पायौं ।” शर्माले भनिन “तर सरकारको अस्थिरताको कारण नेपालमा खेलकुद मात्र हैन कुनै पनि क्षेत्रको समुचित विकास हुन सकेको छैन ।”
उनले निजि क्षेत्रको थोरै लगानीमा र सरकारी क्षेत्रको धेरै लगानीमा काम भए पनि सरकारी लगानीका काम प्रतिफलको तुलनामा निजि भन्दा कमजोर रहेको बताइन । रुपन्देहीमै निर्माण भईरहेको निजि क्षेत्रको क्रिकेट मैदान एक्स्ट्राटेक ओभर क्रिकेट रङ्गशालाको उदाहरण दिदै उनले भनिन “ २५ करोडको लगानीमा निजि रङ्गशाला तयार भएको छ अझै पनि २५ करोड भए निर्माण सम्पन्न हुने जानकारी पाएका छौं । त्यसको तुलनामा सिद्धार्थ रङ्गशालामा १ अर्ब बजेट आवश्यक रहेको पनि जानकारी पाएका छौं । निजि र सरकारी स्तरमा यस्तो भिन्नता किन ?”
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले नेपाली किकेट जगतमा किकेट खेल र खेलाडीको विकासको क्षेत्रमा रुपन्देही जिल्ला सदैव अग्र स्थानमा रहने गरेको बताए । सिद्धार्थ क्रिकेट रङ्गशालालाई अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदानमा परिणत गर्न रुपन्देही लागि परेको बताउदै उनले यस कार्यलाई सम्पन्न गर्न सबै तहका सरकारबाट सहयोगको खांचो औल्याए । तर सिद्धार्थ क्रिकेट रङ्गशाला अहिले पनि सरकारको प्राथमिकतामा नपरेको उनको गुनासो थियो । रङ्गशालाको गुरुयोजना तयार भई डिपीआर समेत भईसकेको अवश्थामा अझै पनि बजेटको कुनै टुङ्गो नलागेको बताउदै उनले यसबारे पहल गरि दिन समितिलाई आग्रह गरे ।
२०६२ सालमा डिपीआर सम्पन्न भई करिब रङ्गशाला निर्माण हुन करिब ४६ करोड आवश्यक रहेको औल्याएको थियो । अहिले डिपीआर अनुसार १० प्रतिशत मात्र लगानी भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष थापाको भनाई छ । तत्कालीन समयमा ४६ योजना पुरा गर्न ४६ करोडको आवश्यकता देखाईए पनि हालको समय त्यो पुरा गर्न करिब १ अर्ब खर्च लाग्ने उनको भनाई छ ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अनुगमनमा सदस्यहरु ईश्वरी घर्ति, छविलाल विश्वकर्मा, देवेन्द्र पौडे, रेखा शर्मा, सरिता भुसाल र ज्ञानु बस्नेत सुवेदी सहभागी थिए ।