अर्घाखाँची। नेकपा एमाले जिल्ला जनसंगठन समन्वय संयन्त्र अर्घाखाँचीले सन्धिखर्कमा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जनसंगठनका प्रतिनिधि, नेताकार्यकर्ता र पार्टी पदाधिकारीहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य नरेन्द्र कुमार क्षेत्री हुनुहुन्थ्यो। केन्द्रीय सल्लाहकार परिषद्का सदस्य जनार्दन खनाल, नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँची का अध्यक्ष पिताम्बर भुसाल लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो।
वक्ताहरूले देशको वर्तमान राजनीतिक परिस्थितिमा नेकपा एमालेको भूमिका, संगठन सुदृढीकरण र जनताका समस्याप्रति संवेदनशील बन्नुपर्नेमा जोड दिएका थिए। चाडपर्वले एकता र सहअस्तित्वको सन्देश दिने भएकाले यस्ता कार्यक्रमले संगठनभित्रको सम्बन्ध अझ सुदृढ हुने उहाँहरूको भनाइ थियो।
कार्यक्रममा करिब ४०० जना जनसंगठन समन्वय संयन्त्रका कार्यकर्ताहरूको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ। कार्यक्रमको अध्यक्षता नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र अर्घाखाँचीका जिल्ला अध्यक्ष शम्भु पोखरेलले गर्नुभएको थियो भने अनेरास्ववियु नेपालका जिल्ला अध्यक्ष विक्रम नेपालीले सञ्चालन गर्नुभएको थियो ।
उद्योग व्यापार महासंघ अर्घाखाँची अध्यक्ष पार्वता श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच शुभकामना आदानप्रदान गर्दै चाडपर्वले ल्याउने खुशी र एकताको सन्देशलाई जीवनमा उतार्ने प्रतिवद्धता जनाइएको थियो।