लेन अनुशासनले घटायो दुर्घटना

राधेश्याम विश्वकर्मा 54+ समाचार ( )
३० फाल्गुन २०८०, बुधवार

भैरहवा । बढ्दो शहरीकरण र सोही अनुपातमा बढ्दै गाएको सवारीको चाप दुर्घटनाको कारक हुन् । तिव्र गति, चालकको लापारवाही, मादक पदार्थ सेवन गरि सवारी चलाउने लगायत कारण रुपन्देहीमा दुर्घटनाका मूख्य कारण हुन् । जिल्लाको खैरहनी–बुटवल–चन्द्रौटा, भैरहवा–बुटवल र भैरहवा–परासी मूख्य राजमार्गका रुपमा रहेका छन् । सबै भन्दा बढी दुर्घटना पनि यहि बाटोहरुमा हुने गरेको छ । 

रुपन्देही जिल्लामा त्रिबर्षिय सवारी दुर्घटनाको तथ्यांक हेर्दा आर्थिक बर्ष २०७७÷०७८ मा भएको १ सय ६२ वटा दुर्घटनामा ८२ जना मानिसको मृत्यु भएको थियो । २०७८÷०७९ मा १ सय ७२ दुर्घटनामा परि ९४ जना र आर्थिक बर्ष २०७९÷०८० मा १ सय ५१ दुर्घटनामा ८३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको तथ्यांकले देखाएको छ । चालु आर्थिक बर्षको फागुन २८ गते सम्म ९५ वटा दुर्घटनामा ४४ जना मानिसले ज्यान गुमाएका छन् । 

पछिल्लो समय रुपन्देही ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरणको लागि बिभिन्न सचेतनामूलक कार्यक्रम संगै कार्यवाहीको गति पनि बढाएको छ । यसले चालकमा सचेतना संगै दुर्घटनामा पनि उल्लेख्य कमि ल्याएको ट्राफिक प्रहरीको दावी छ । यसै मध्येको एक हो ट्राफिक प्रहरीद्वारा गरिएको “लेन अनुशासन शिक्षा” । भैरहवा–बुटवल सडक खण्डमा व्यवस्थित सडक निर्माण भए संगै चालकहरुलाई सडकमै प्रहरीले लेन सम्बन्धि शिक्षा प्रदान गरिरहेको छ । ट्राफिक प्रहरीका अनुसार दुर्घटनाको मुख्य कारण मध्ये ७० प्रतिशत दु्रत गति र त्यसपछि करिब २० प्रतिशत लेन अनुशासन उल्लघंनका कारणले हुँदै आएको छ । त्यसैले ट्राफिकले सिद्धार्थ राजमार्ग अन्तर्गत बेलहिया–बुटवल ६ लेन सडक, पूर्व–पश्चिम राजमार्ग र हुलाकी सडकमा चल्ने सबै किसिमका सवारी चालकलाई लेन अनुशासन र ट्राफिक नियमबारे सडकमै शिक्षा दिन थालेको हो ।

“जथाभावी ओभरटेक गर्दा र आफ्नो लेनमा सवारी नचलाउँदा दुर्घटना भइरहेका छन् । यस्ता दुर्घटनामा चालकसँगै यात्रु, विपरीत दिशाबाट आएका सवारीमा सवार र पैदलयात्रुको समेत ज्यान जाने गरेको छ नै सवारीमा पनि उस्तै क्षति हुँदै आएको छ”, जिल्ला ट्राफिक प्रहरी प्रमुख बजिर सिंह बिष्टले भने, “हामीले कुनै न कुनै किसिमले दैनिक जसो चालकहरुलाई सचेतनामूलक शिक्षा दिईरहेका छौं ।” 

भारतबाट बिभिन्न मालवस्तु लिएर नेपाल प्रवेश गर्ने भारतीय ट्रकहरुले लेन पालन गर्दैनन् । उनिहरु प्राय दाहिने च्यापेर सवारी चलाउदा अन्य गाडीहरुले बाँयाबाट ओभरटेक गर्नुपर्छ, यसले पनि दुर्घटना हुने गरेको विष्ट बताउछन् । अतः भारतीय गाडी लक्षित गरेर चार दिने लेन अनुशासन शिक्षा सुरु गरेको उनले बताए ।“यो चार दिन सम्झाई बुझाई मात्र गरेर पठाउने छौं,” उनले भने “त्यसपछि भने कार्यवाही गर्ने हाम्रो योजना छ ।”

ट्राफिक प्रहरी प्रमुख विष्टका अनुसार बाटोको सबै भन्दा बाँया लेनमा मोटरसाईकल लगायतका हल्का सवारी अधिकतम ५० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने नियम हो । यस्तै त्यसको दाँया लेनमा बस, ट्रक, जिप लगायतका भारी गाडीहरु अधिकतम ७० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छन् । सबै भन्दा दाँया तर्फको लेन भने ओभरटेक गर्नको लागि छुट्टयाईएको हुन्छ । ओभरटेक गरेर फेरी आफ्नै लेनमा आउनुपर्ने हुन्छ । 

ट्राफिक प्रहरीका अनुसार लेन अनुशासन पालना नगर्नेमा यात्रुवाहक र मालवाहक सवारी मात्र हैना साना सवारी पनि छन् । पछिल्लो समय मुलुकमा भइरहेको सडक बिस्तारसँगै गति अनुसारको लेन छुट्याएको भए पनि पालना नहुँदा दुर्घटनाको जोखिम बढ्दो छ । “सडकमा लेन छुट्याएर रेखांकन गरिसके पनि त्यसको प्रयोग नभएकाले ट्राफिक प्रहरीले यसलाई अभियानको रुपमा अगाडि सारेको हो”, विष्टले भने  । 


सडकमै मात्र नभई ट्राफिक नियमबारे विद्यालय, सामाजिक संस्था र यातायात व्यवसायीलाई पनि शिक्षा दिँदै आएको प्रहरीको भनाई छ । “पछिल्लो समय रुपन्देहीमा मासिक दुर्घटना दर २० प्रतिशतले घट्दै गइरहेको छ । दुर्घटना हुनै नदिन हाम्रो तर्फबाट हुने सबै किसिमका प्रयास निरन्तर भैरहेका छन् ।” ट्राफिक प्रहरी प्रमुख विष्टले भने । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार