निश्चित खेलबाट सहकार्य सुरु गर्न चीनसँग प्रस्ताव

Ujyalosandeshonline 11543+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले झेजियाङ खेलकुद ब्युरो चीनका निर्देशक एवं १९ औं एसियाली खेलकुद आयोजक कमिटीका उपसचिव झेङ याउसँग भेटवार्ता गरेका छन् ।

भेटमा उनले सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहेको बताएका छन् । सदस्य सचिव घिसिङले झेङ याउको नेतृत्वमा आएको टोलीसँग शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटका क्रममा सो कुरा बताएका हुन् ।

सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहन्छौं । कुन कुन खेलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी खाका तयार गरेर फेरि यहाँहरुलाई सम्पर्क गर्छौं’ सदस्य सचिव घिसिङले भने ।

उनले १९औं एसियाली खेलकुद सफलतापूर्वक आयोजना गर्नुका साथै टिम च्याम्पियन बन्न सफल भएकोमा बधाइ दिँदै झेजियाङ प्रदेशले खेलकुद, आर्थिकलगायत विभिन्न क्षेत्रमा गरेको प्रगति सुनेर खुसी लागेको बताए ।

सदस्य सचिव घिसिङले चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपाल र चीनबीच नेपालमा उमेर समूहको फुटबल प्रतियोगिता आयोजनाका लागि पनि छलफल भइरहेको बताएका थिए ।

निर्देशक झेङ याउले १९ औं एसियाली खेलकुदमा नेपालको सहभागिता उत्साहनजक रहेको बताउँदै भेटको उद्देश्य खेलकुदमा दुई पक्षबीच कसरी सहयोग आदानप्रदान गर्न सकिन्छ भन्ने रहेको बताए ।

उनले झेजियाङ प्रदेशका खेलाडीले ओलम्पिकलगायत महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरेको बताउँदै छलफललाई निरन्तरता दिँदै नेपाली खेलकुदलाई सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

भेटका अवसरमा झेङयाउको नेतृत्वमा आएको ९ सदस्यीय टोलीसहित राखेपका सदस्य अञ्जन धमला, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्णप्रसाद तिमिल्सिना, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार