पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी

Ujyalosandeshonline 11139+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

पोखरा । महेन्द्रपुलबाट नयाँबजारमा स्थानान्तरण गरिएको पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा ग्यालरी तयार भएपछि प्रदर्शनी आयोजना गरिएको हो । गण्डकी प्रज्ञा–प्रतिष्ठानले आर्ट ग्यालरीमा ५० वटा लाइट र आवश्यक पर्ने थप सरसामान सहयोग गरेर प्रदर्शनी हललाई आर्कषक बनाएको छ । 

आगामी दिनमा थप सहयोग समेत गर्ने तयारी प्रतिष्ठान गण्डकीले गरेको जनाएको छ । प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको ‘प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ आगामी बुधबारसम्म सञ्चालन हुनेछ । 

सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा प्रदर्शनी गरिएको हो । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले उद्घाटन गरे ।

‘सामाजिक रुपान्तरण ः ललितकलाको अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका ७४ वटा कला सिर्जना प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

पाँच दिने प्रदर्शनीको समापनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग संवाद कार्यक्रम गरिने भएको छ । देशका सुप्रसिद्ध कलाकारको सहभागितामा कार्यक्रम आयोजना भएकाले नयाँ तथा पुराना कलाकारको जमघट हुने ठाउँ प्रदर्शनी स्थल बन्ने आयोजकको अपेक्षा छ । 

प्रादेशिक प्रदर्शनीमा सामेल ललितकलालाई पुरस्कार समेत प्रदान गरिनेछ । सबै विधाबाट उत्कृष्ट हुने एक जनालाई ५० हजार रुपैयाँ, चित्रकलातर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तिकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक–एक जनालाई तथा लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ दुई जनालाई पुरस्कृत गरिनेछ । सबै विधातर्फका विजेताले ३० हजार रुपैयाँ नगद हात पार्नेछन् ।

यससँगै प्रदर्शनीमार्फत छानिएका चित्र आगामी जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन् । राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट हुनेलाई एक लाख र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार रुपैयाँ पुरस्कार छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिष्पर्धा हुनेछ ।

ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफूहरु प्रतिष्ठानमा आइसकेपछि परम्परागत शैलीमा सञ्चालन हुँदै आएका काम कारवाहीलाई व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको बताए ।

‘जाति जनजातिको कला आज हामी देख्न पाउदैनौ, केही अपवादबाहेक घरभित्र थन्किएको छ, समुदायमा थन्किएको छ, सुषुप्त हुन थालेको छ,  त्यसलाई पुनर्जागरण  गर्ने भनेका छौ,ं’ उनले भने । समाज रुपान्तरण गर्न ललितकलाको भूमिका महत्वपूर्ण हुने भएकाले सोही अभियानका साथ आफूहरुले काम गर्न थालेको उनले सुनाए ।  

ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तु तथा अन्य सिर्जनात्मक विभाग प्रमुख समेत रहेकी कार्यक्रम संयोजक सौरगंगा दर्शनधारीले सबैको साथ सहयोगका कारण पोखरामा प्रदर्शनी सम्भव भएको बताइन् ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले अब हरेक वर्ष १० दिने कला प्रदर्शनी गण्डकी प्रदेशमा आयोजना गरिने बताए । त्यसरी आयोजना गरिने प्रदर्शनी हरेक वर्ष प्रदेशका फरक–फरक जिल्लामा गर्ने तयारी गरिएको उनले खुलाए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार