एनआइसी एशिया बैंकको एटिएम नचल्दा धकधईका सेवाग्राहीलाई सास्ती, ‘२४ घण्टा सेवा’को नारा नारामै सीमित

Ujyalosandeshonline 11144+ समाचार ( )
२८ पौष २०८२, सोमबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकास्थित धकधईमा रहेको एनआइसी एशिया बैंकको एटिएम मेशिन लामो समयदेखि बिग्रिँदा सेवाग्राहीहरू ठूलो मर्कामा परेका छन् । छिटो, छरितो र २४ सै घण्टा सेवा दिने उद्देश्यसहित राखिएको उक्त एटिएम मेशिनमा पैसा निकाल्न जाँदा अधिकांश समय स्क्रिनमा ‘माफ गर्नुहोला, यो मेशिन हाल मर्मत भइरहेकोले सञ्चालनमा आउन केही समय लाग्नेछ’ भन्ने सन्देश मात्र देखिने गरेको छ । बैंकको यस्तो लापरबाहीका कारण आफ्नै खातामा पैसा हुँदाहुँदै पनि सेवाग्राहीहरू चर्को शुल्क तिरेर अन्य बैंकको एटिएम प्रयोग गर्न वा रित्तो हात फर्कन बाध्य भएका छन् ।

विशेषगरी आकस्मिक रूपमा नगद आवश्यक पर्ने यात्रु र सर्वसाधारणले यसबाट धेरै दुःख पाएका छन् । बर्दघाटका गाडी चालक प्रदिप पौडेलले आफूलाई परेको समस्या सुनाउँदै भने, “मेरो एनआइसी बैंकमै खाता छ । खाजा खान पैसा निकाल्न धकधईको एटिएममा गएँ तर मेशिन बिग्रिएको रहेछ । पैसा निकाल्न नपाएपछि साथीसँग मागेर खाजाको पैसा तिर्नुपर्यो ।” उनले २४ घण्टा सेवा भनिए पनि आवश्यक पर्दा मेशिन सधैं बिग्रिएको हुनु दुःखद भएको भन्दै बैंकले यसप्रति गम्भीर ध्यान दिनुपर्ने बताए ।

स्थानीय सेवाग्राहीहरूले सम्बन्धित शाखाले समस्या समाधानमा चासो नदेखाएको र बैंक गैरजिम्मेवार बनेको भन्दै आक्रोश पोखेका छन् । पटक–पटक समस्या दोहोरिँदा पनि बैंकले दीर्घकालीन समाधान नखोजेको उनीहरूको गुनासो छ । यता, यस विषयमा एनआइसी एशिया बैंक धकधई शाखाका प्रबन्धक गिरिराज पोखरेललाई सम्पर्क गर्दा उनले एटिएम मेशिनमा देखिएको समस्या समाधान गर्न अझै तीन–चार दिन लाग्ने बताए । उनले भने, “हामी मेशिन बनाउने प्रयासमा छौं, जतिसक्दो चाँडो यो समस्या समाधान हुनेछ ।” यद्यपि, मर्मतको नाममा सेवा ठप्प हुँदा सेवाग्राहीले कहिलेसम्म सास्ती खेप्नुपर्ने हो भन्ने टुंगो छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार