भैरहवा । लुम्बिनीमा २९ औं रक्तदान कार्यक्रम सोमबार सम्पन्न भएको छ । अन्तर्राष्टिय बौद्ध समाजको ३३ औं बार्षिकोत्सव तथा २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना भएको हो ।
दानलाई मानव जीवनको महानतम कार्य मान्ने भगवान बुद्धको पथ अनुसरण गर्दै बौद्ध मार्गी तथा गृहस्थी समेत गरि ४८ जना दाताहरुले उत्साहपूर्वक रक्तदान गरेको समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले जानकारी दिए । भिक्षु मैत्री महास्थवीरले लुम्बिनी क्षेत्रका नियमित रक्तदाता तथा सर्वाधिक पटक रगत दान गरेका उपेन्द्र अधिकारीलाई रगतको पोका हस्तान्तरण गरि कार्यक्रम उद्घाटन गरेका थिए । अधिकारीको ६३ औं पटक रक्तदान रहेको थियो ।
भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजको प्रविधिक सहयोगमा सम्पन्न कार्यक्रममा प्रभु बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नविल बैंक, ग्लोवल आईयमई बैंक, नेपाल लाईफ, बुद्धमाया होटल, लुम्बिनी बिकास कोष लगायतका संघ संस्था तथा व्यक्तिहरुको सहयोग रहेको थियो ।
संस्थाले हरेक बर्ष आफ्नो नियमित क्यालेण्डरमा राखि विगत २९ बर्ष देखि नै रक्तदान, जिल्लास्तरीय हाजिर जवाफ प्रतियोगिता, बुद्ध अस्थिधातु प्रदर्शनी, तथा बुद्ध जयन्ती मनाउदै आएको छ ।