धकधई (रुपन्देही) । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ कार्यालयले वडावासीका लागि राष्ट्रिय परिचयपत्र वितरणको कार्यतालिका सार्वजनिक गरेको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै मंसिर २१ गतेदेखि पुस १४ गतेसम्म विभिन्न टोल अनुसार पालो मिलाएर परिचयपत्र वितरण गरिने जनाएको हो ।
विगतमा वडा अन्तर्गतको श्री राम नरेश आदर्श नमुना माध्यमिक विद्यालयबाट राष्ट्रिय परिचयपत्रको फारम भरेका सेवाग्राहीहरूको कार्ड आएको हुँदा वितरण प्रक्रिया अगाडि बढाइएको हो । वडाध्यक्ष वीर बहादुर क्षेत्रीका अनुसार वडामा कुल ४ हजार ३६ जनाको राष्ट्रिय परिचयपत्र आएको छ । ती कार्डहरू सम्बन्धित व्यक्तिलाई सहज रूपमा हस्तान्तरण गर्न वडाध्यक्ष क्षेत्रीसहित वडा सदस्यहरू र कर्मचारीको टोली स्वयं खटिने भएका छन् ।
वडा कार्यालयले कार्ड लिनका लागि सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने बताएको छ । सेवाग्राहीले परिचयपत्र लिन आउँदा आफ्नो सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र भर्दाको फारम (सिस्लिप) अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै वडाले टोल अनुसारको समय तालिका समेत निर्धारण गरेको छ ।
सार्वजनिक गरिएको तालिका अनुसार कदमहवा र बजार टोलका सेवाग्राहीलाई मंसिर २१ र २२ गते तथा चैनपुरवा र साविक धकधई–६ का लागि मंसिर २३ गतेको समय तोकिएको छ । साविक धकधई–५ का स्थानीयले मंसिर २४ गते, अडरीयाटोल धकधईका बासिन्दाले २५ गते र चौकीटोल तथा स्कुल एरियाका सेवाग्राहीले २६ गते परिचयपत्र लिन सक्नेछन् । त्यस्तै, लक्ष्मीनगरका लागि मंसिर २८ र २९ गते, रामनगरका लागि पुस १ गते तथा वैकुण्ठपुर र प्रतिटोलका लागि पुस २ गतेको पालो निर्धारण गरिएको छ ।
यसैगरी नकहीयाटोल, पडरहवा र सेमरहवाका सेवाग्राहीलाई पुस ३ र ४ गते तथा परासिझुङ्गा र शिव मन्दिरदेखि दक्षिण क्षेत्रका बासिन्दालाई पुस ६ देखि ९ गतेसम्म कार्ड वितरण गरिनेछ । तोकिएको मितिमा परिचयपत्र लिन नभ्याएका वा छुटफुट भएका सेवाग्राहीहरूका लागि भने पुस ११ देखि १४ गतेसम्मको समय छुट्याइएको छ । वडाध्यक्ष क्षेत्रीले तोकिएको मिति र समयमा उपस्थित भई आ–आफ्नो परिचयपत्र बुझिलिन सम्पूर्ण वडावासीमा आग्रह गरेका छन् ।