मुख्य समाचार
स्वास्थ्य मन्त्रालयका एक सय त्रियानब्बे पदाधिकारी पदमुक्त | निजामती ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज, सरकारी सम्पत्ति फिर्ता गर्न आग्रह | मर्चवारका चोक र नहरमा फोहोरको डंगुर: महामारीको जोखिम बढ्दै, सिँचाइ प्रणाली नै संकटमा | स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै | मनाङको चामे बजार | निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प | ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका जोशी पक्राउ | सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु | भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान | बिक्री गर्न लगिँदै तरभूजा |
मुख्य समाचार
स्वास्थ्य मन्त्रालयका एक सय त्रियानब्बे पदाधिकारी पदमुक्त | निजामती ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज, सरकारी सम्पत्ति फिर्ता गर्न आग्रह | मर्चवारका चोक र नहरमा फोहोरको डंगुर: महामारीको जोखिम बढ्दै, सिँचाइ प्रणाली नै संकटमा | स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै | मनाङको चामे बजार | निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प | ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका जोशी पक्राउ | सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु | भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान | बिक्री गर्न लगिँदै तरभूजा |


स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

Ujyalosandeshonline 11183+ समाचार ( )
२२ वैशाख २०८३, मङ्गलबार

काठमाडौँ। सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न ‘अनलाइन’ सेवा सुरु गरेको छ । अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारीसाधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो । उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुभारम्भ गर्नुभयो । 

नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजस्व तिर्न सक्नेछन् । यसअघि भन्सार नाकामा आएर यस्ता सवारीसाधनले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो ।

साथै, नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था थियो । तर, नयाँ अनलाइन प्रणाली सुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्नो सवारीसाधनको इजाजतपत्र घरैबाट अनलाइनमार्फत भरेर अनलाइनबाटै पैसा तिरेर बिना झन्झट नेपाल घुम्न आउन सक्छन् । नयाँ अनलाइन सहजीकरण सेवाको शुभारम्भ गर्दै अर्थमन्त्री डा वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताउनुभयो । 

“सरकारले अनुसरण गरेको सुशासन र छरितो गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यान्वयनका क्रममा यो कार्य सुरु गरिएको हो,” अर्थमन्त्री डा वाग्लेले भन्नुभयो, “पर्यटकलाई कुनै कठिनाइ नहोस् । सरकारी सेवा छिटो र छरितो होस् भन्ने हामी चाहन्छौँ ।” नयाँ प्रणाली सुरुआत गर्दै भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले नेपाल भित्रिने पर्यटक बोकेका विदेशी सवारीसाधनको इजाजत अब ‘डिजिटल’ भएको बताउनुभयो । उहाँका अनुसार अब नेपाल प्रवेश गर्ने यात्रु तथा पर्यटकले प्रयोग गर्ने विदेशी सवारीसाधनसम्बन्धी विवरण अनलाइनमै स्वयं घोषणा गर्न सक्नेछन् । जसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनाउनेछ ।

नेपाल सरकारलाई तिर्ने राजस्व पनि त्यस्ता पर्यटकवाहक सवारीले अनलाइनबाटै वा बैङ्क काउन्टरबाट तिर्न सक्छन् । अनलाइनबाट पैसा तिरेका गाडीले भन्सारमा आफ्नो ‘इमेल’मा प्राप्त ‘क्यूआर कोड’ देखाएरै नेपाल छिर्न सक्ने उहाँको भनाइ छ । यसरी प्राप्त हुने क्यूआर बोकेर पर्यटकवाहक सवारी आफ्नो गन्तव्यमा पुग्नसक्ने विभागले जनाएको छ । 

विभागका अनुसार यस्ता सवारीसाधनले आफ्नो यात्रा अवधि सकिएको खण्डमा पनि आफू रहेको नेपालस्थित ठेगानाबाट अनलाइनमार्फत नै यात्रा अवधि थप गर्न सक्नेछन् । यो सबै सेवा लिनका लागि भन्सार विभागको ‘वेबसाइट’मा गएर हाम्रा सेवाहरू शीर्षकमा रहेको टिआइभी शीर्षकमा ‘क्लिक’ गर्नुपर्छ र त्यसबाट भित्र रहेको विवरण अनलाइनबाट भर्न सकिन्छ ।

सबै विवरण अद्यावधिक गरिसकेपछि अन्तिममा ग्राहकलाई विवरण सबै खुल्ने क्यूआरकोड प्राप्त हुुन्छ । सोको आधारमा आफूले तिर्नुपर्ने शुल्क तिरेर सवारीसाधनहरू नेपाल भित्रिन सक्छन् । नेपालभरका सडकमा त्यस्ता सवारीले सोही क्यूआर कोड देखाएको खण्डमा यात्रा गर्न पाउँछन् । विभागका अनुसार नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत नेपाल भित्रिने विदेशी नागरिकहरूलाई सहजता प्रदान गर्न अस्थायी सवारी आयात (टिआइभी) ‘मोड्युल’ विकास गरिएको हो ।

तत्कालका लागि यो सेवा नेपाल भित्रिने भारतीय तथा तेस्रो देशका पर्यटकले प्रयोग गर्ने सवारीसाधनका लागि लागू गरिएको भन्सार विभागले स्पष्ट पारेको छ । हाललाई चिनियाँ नाका भएर स्थलमार्गबाट चिनियाँ सवारीसाधनसहित पर्यटक आउने नगरेको र आएको खण्डमा उनीहरूका हकमा पनि यो सेवा रहेको विभागले जनाएको छ । तत्कालका लागि यो सेवाबाट भारत र बङ्गलादेशका पर्यटक लाभान्वित हुने विश्वास विभागको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार