भैरहवा । नेपाल प्रहरीले सार्वजनिक यातायातमा यात्रा गर्दा साबिक दर भन्दा बढी भाडा लिएमा १०३ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ । चाडपर्व नजिकएसँगै सार्वजनिक यातायातमा यात्रा गर्दा चालक, सह-चालकहरुले साबिक दर भन्दा बढी भाडा लिने गरेका छन् । जसकारण प्रहरीले सामाजिक संजाल फेसबुकमा एक सूचना जारी गर्दै बढी भाडा लिएमा सम्पर्क गर्न आग्रह गरेको हो।
साथै, प्रहरीले चाडपर्वको क्रममा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष समेत स्थापना गरिएको जनाएको छ। प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘साबिक भाडादर भन्दा बढी भाडा लिएको भनी गुनासो आएको हुदाँ यस प्रकारका गुनासा तथा समस्याहरु भएमा नजिकको ट्राफिक प्रहरी कार्यालय सहायता कक्ष तथा हटालाइन नम्बर १०३ मा सम्पर्क गर्न सक्नुहुनेछ।’ यसबाहेक प्रहरीको कन्ट्रोल रुमको १०० नम्बरमा पनि सम्पर्क गर्न सकिनेछ ।
यस्तै प्रहरीले अविरल वर्षाका कारण विभिन्न स्थानहरुमा बाढी, पहिरोले गर्दा अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेकोले लामो यात्रामा निस्किनु अघि सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा केन्द्रीय प्रहरी परिचालन कक्ष (विपद डेस्क) को ९८५१२८५६३५ मा सम्पर्क गर्नका लागि अनुरोध गरेको छ।