भैरहवा । सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीको सैनामैना नगरपालिका–९, बासगढीबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. रुपन्देहीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज गुरुङको कमाण्डमा खटिएको १० जनाको टोलीले शनिबार बिहान वडा कार्यालय नजिकैको कच्ची सडक छेउको झाडीमा लुकाइराखिएको अवस्थामा उक्त सामग्री फेला पारेको हो ।
सशस्त्र प्रहरी २७ नं. गणका प्रवक्ता डिएसपी दुर्गा थापाका अनुसार बरामद गरिएका लत्ताकपडाको अनुमानित बजार मूल्य ३७ लाख २५ हजार दुई सय रुपैयाँ रहेको छ । बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा दाखिला गरिएको छ भने सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी तथा गस्तीलाई थप कडाइ गरिएको दाबी गरेको छ ।
यद्यपि, सीमा क्षेत्रमा सुरक्षा निकायका बाक्ला चेक पोष्टहरू हुँदाहुँदै यति ठूलो परिमाणको अवैध सामान सीमा पार गरेर भित्री इलाका सैनामैनासम्म कसरी आइपुग्यो भन्ने विषयमा स्थानीयले गम्भीर प्रश्न उठाएका छन् । स्थानीय वीरेन्द्र थापाले सर्वसाधारणले दुई–चार किलो घरायसी सामान ल्याउदा बेलहियादेखि भैरहवासम्म ठाउँ–ठाउँमा कडा चेकजाँच हुने तर तस्करहरूको ठूलो परिमाणको सामान सहजै भैरहवा, बुटवल हुँदै सैनामैना पुग्ने गरेको भन्दै आक्रोश पोखेका छन् । नेपाल प्रहरीका एसपी प्रदिप बहादुर क्षेत्रीको सरुवा भएलगत्तै तस्करहरू पुनः सलबलाउन थालेको भन्दै स्थानीयले प्रहरीको भूमिका र सुरक्षा व्यवस्थामाथि आशंका व्यक्त गरेका छन् ।
आइतबार ७४ औं भन्सार दिवसको अवसरमा आयोजित छलफल कार्यक्रममा पनि रुपन्देहीमा तस्करी बढेको विषयले प्रवेश पाएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य धर्मवीर शर्माले तस्करी मौलाएको भन्दै गुनासो गरेका थिए । यसै गरि सोही सोही प्रकृतिको अर्को कार्यक्रममा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीले आम नागरिकलाई दुःख दिएर पैसा कमाउने मानसिकता तत्काल त्याग्न र तस्करी नियन्त्रणमा इमानदार भएर लाग्न मातहतका प्रहरी कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन् ।