काठमाडौँ। काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा चल्ने सडक खण्डमा रात्रिकालीन समयमा यात्रुबाहक तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बढ्दो सवारी दुर्घटना र मानवीय क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै उक्त रुटमा सवारी सञ्चालनको नयाँ समय तालिका सार्वजनिक गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनाअनुसार अब बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुबाहक सवारीसाधन बेलुकी ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्ने छ भने बिहान ५ बजेपछि मात्र बल्खुबाट सवारी सञ्चालन गर्न पाइने छ ।
साँघुरो तथा घुम्तीयुक्त सडक, रातको अँध्यारो, तीव्र गति, चालकको थकाइ तथा लापर्वाही र लागुपदार्थ सेवनका कारण दुर्घटना बढेपछि सर्वसाधारणको जीउधनको सुरक्षाका लागि यो निर्णय लिइएको प्रशासनले जनाएको छ । सो मार्गमा चल्ने सवारीसाधनको यान्त्रिक अवस्था तथा चालकको कडाइका साथ चेकजाँच गरिने सूचनामा उल्लेख छ ।