तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपाध्यक्ष डा स्वर्णिम वाग्लेले विकासका लागि सरकारको मात्रै मुख ताक्ने प्रवृत्तिको अन्त्य गरिनुपर्ने बताउनुभएको छ । जिल्लाको व्यास नगरपालिका–१ स्थित रतौली टोल विकास संस्थाद्वारा जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा आज उहाँले विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
उपाध्यक्ष डा वाग्लले भन्नुभयो, “धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीयवासीले देखाएको कार्य अनुकरणीय छ । सबै कुरा सरकारले मात्रै गर्न सक्दैन । आफ्नो क्षेत्रको विकासका लागि आमनागरिक एकजुट भएर लाग्न आवश्यक छ ।”
‘जेनजी’ प्रदर्शनपछि मुलुक नयाँ मोडमा गएको चर्चा गर्दै उहाँले राजनीतिमा देखिएको विकृतिलाई सङ्ल्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आफ्नो पार्टीले पटकपटक प्रतिनिधिसभामा यस विषयमा ध्यानाकर्षण गराउँदै आएको समेत उहाँले स्मरण गर्नुभयो ।
डा वाग्लेले युवा विदेश पलायन हुने कार्यलाई न्यूनीकरण गर्दै स्वदेशमै बसेर गरिखाने वातावरण सिर्जना गर्न सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो । धर्मशाला, होम कुण्ड र शिव लिङ्ग कुण्ड निर्माण गर्ने उद्देश्यले यही मङ्सिर ६ देखि १३ गतेसम्म महायज्ञको आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक अभिमानसिं बस्नेतले जानकारी दिनुभयो ।