अर्घाखाँची । विश्व स्तनपान सप्ताह २०२५ को अवसरमा स्वास्थ्य कार्यालय अर्घाखाँचीले जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको छ। यसै क्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ७ को खाँचीकोट स्वास्थ्य चौकीमा विशेष कार्यक्रम सम्पन्न भएको छ, जसको मुख्य उद्देश्य स्तनपानको महत्वबारे जनचेतना फैलाउनु रहेको छ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद पोखरेलले शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउन सुरु गर्नु (प्रारम्भिक स्तनपान) को महत्वमाथि प्रकाश पार्नुभयो। उहाँले बच्चा जन्मेदेखि केही दिनसम्म आउने आमाको पहेंलो बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता उच्च हुने भएकाले यसले शिशुलाई विभिन्न रोगबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
प्रमुख पोखरेलले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु (पूर्ण स्तनपान) र ६ महिना पूरा भएपछि पूरक खानाको साथमा कम्तीमा दुई वर्षसम्म स्तनपान गराउनु पर्नेमा जोड दिनुभयो। उहाँले स्तनपानले महिलाहरूलाई स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट जोगाउन पनि मद्दत पुग्ने जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ।नेपालमा पनि सोही अनुरूप विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छन्। खाँचीकोटमा आयोजित कार्यक्रममा आमाहरूलाई स्तनपानका फाइदा, शिशु स्वास्थ्यमा यसको भूमिका र कार्यस्थलमा स्तनपानमैत्री वातावरण निर्माणको आवश्यकता बारे जानकारी गराइएको थियो ।
कार्यक्रममा अर्घाखाँची अस्पतालकी नर्सिङ अधिकृत सुनिता आचार्यले सहजीकरण गर्नुभएको थियो। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेल, सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश परियार लगायतको उपस्थिति रहेको थियो।
खाँचीकोट स्वास्थ्य चौकीका सूचना अधिकारी प्रेम बिकले संचालन गर्नुभएको उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, नवजात शिशुका आमाहरू र स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।