देवदह (रुपन्देही) । यहाँको सिद्धार्थनगर नगरपालिका–७ भैरहवास्थित बाल सुधारगृहमा अनुगमन गरिएको छ । प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीसहितको टोलीले बाल सुधारगृहको अनुगमन गरेको हो ।अनुगमनपश्चात सांसद पौड्यालले बाल सुधारगृहलाई अझ ठूलो स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको बताउनुभयो ।
त्यसका लागि आवश्यक पहल गरिने उहाँले बताउनुभयो । एकै ठाउँमा धेरै बालकहरु बस्दा स्वास्थ्यसहित अन्य समस्या आउन सक्ने उहाँको भनाइ छ । बाल सुधारगृहमा स्थानीय तहहरुले खाजा व्यवस्थापनका लागि सहयोग गरिरहेको भए पनि त्यो पर्याप्त हुन नसकेको उहाँले बताउनुभयो । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सदस्यसमेत रहनुभएकी पौडेलले बाल सुधारगृहमा रहेका बालकहरुलाई मनोसामाजिक परामर्श पनि आवश्यक रहेकामा जोड दिनुभयो ।