भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज रुपन्देही आउँदै हुनुहुन्छ । उहाँ पार्टीले आयोजना गरेको ‘घण्टी अभिवादन तथा जनसम्पर्क कार्यक्रम’मा सहभागी हुन लाग्नुभएको हो । रुपन्देही भ्रमणका क्रममा शाहले पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरू सुनिल लम्साल क्षेत्र १, सुलभ खरेल क्षेत्र २, डा. लेखजंग थापा क्षेत्र ३, कन्हैया बनियाँ क्षेत्र ४ र तौफिक अहमद खाँन क्षेत्र ५ सँग भेटेर चुनावी माहोलबारे जानकारी लिने कार्यक्रम छ । साथै, समानुपातिक उम्मेदवारहरू, केन्द्रीय नेताहरू, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू र स्थानीय नेताकार्यकर्ताहरूसँग पनि भेटघाट गर्नुहुनेछ।
‘घण्टी अभिवादन’ कार्यक्रमअन्तर्गत शाहले मतदाता र शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाट गर्नेछन् । यो कार्यक्रम क्षेत्र नम्बर १ को धकधई, क्षेत्र नम्बर ४ को मर्चवार र क्षेत्र नम्बर ५ को लुम्बिनीमा तय भएको छ। पार्टीले आफ्ना शुभेच्छुकहरूलाई वरिष्ठ नेता सहभागी हुने स्थानहरूमा उपस्थित हुन अनुरोध गरेको छ ।
रास्वपा नेताहरूले शाहको रुपन्देही आगमनले पार्टीलाई थप मजबुत बनाउने अपेक्षा राखेका छन् । विशेषगरी, क्षेत्र नम्बर ५ को लुम्बिनीमा उहाँलाई भव्य स्वागत गर्ने तयारी छ । रास्वपा स्रोतका अनुसार, लुम्बिनीमा हुने ‘घण्टी अभिवादन’ कार्यक्रममा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुने सम्भावना छ । रवि लामिछाने हिजो मात्रै गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा ‘घण्टी अभिवादन तथा जनसम्पर्क कार्यक्रम’ सम्पन्न गरेर फर्किएका हुन् र आज रुपन्देहीका कार्यक्रमहरूमा सहभागी हुने अपेक्षा गरिएको छ ।