गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकामा छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरू भएको छ । रेसुंगा नगरपालिकाको आयोजनामा रेसुंगा नगरपालिकास्तरीय अन्तर विद्यालय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको हो । चिदिचौरखेलमैदानमा सुरु भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको हो ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख खिलध्वज पन्थीले खेल र खेलाडीको क्षेत्रलाई उच्च प्राथमिकता राखेर आफुहरुले काम गरिरहेको बताउँनुभयो । खेल अनुशासित र सभ्य ढंगले सम्पादित हुने क्षेत्र रहेको भन्दै यहाँबाट उत्पादित खेलाडीले विश्वका हरेक इतिहास रच्न सक्ने बताउनुभयो ।
अहिले चिदिचौर खेलमैदानमा हुने हरेक विधाका खेल सञ्चालनले चलायमान भएको बताउनुभयो । उहाँले गुल्मी जिल्लामा जन्मिएर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा इतिहास रच्न सफल स्वर्गिय दल बहादुर राना, तथा क्रिकेट खेलाडीहरु सोमपाल कामी, अर्जुन कुमाल जस्ता खेलाडीहरु यस जिल्लाका गौरव भएको बताउनुभयो । चिदिचौर खेल मैदानलाई व्यवस्थित गर्ने गरी काम गरिरहेको भन्दै अर्को वर्ष सञ्चालन हुने राष्ट्रपती रनिङशिल्ड प्रतियोगितासम्म चिदिचौरमा हरियो दुवोमा खेल सञ्चालन गराइने दाबि गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नगरस्तरीय खेलमा देखिएको उत्साहले तत्कालिन समयमा सञ्चालन हुने वीरेन्द्र शिल्डमा जस्तै झल्को दिएको बताउनुभयो । “खेल राष्ट्रको पहिचान, अनुशासन, स्वास्थ्यका लागि महत्वपूर्ण छ । सबै जातजातिलाई एउटै भावनाले बाँध्ने र एकै ठाउँमा ल्याउने माध्यम खेल बनिरहेको छ ।” प्रजिअ गौतमले भन्नुभयो,–“गुल्मीले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सफल भएको छ । यो जिल्लाका लागि गौरवको विषय हो ।” स्थानीयतहले आयोजना गर्ने प्रतियोगिताले प्रतिभा भएका व्यक्तिलाई उजागर गर्न सहयोग पुर्याइरहेको गौतमको भनाइ छ ।
उद्घाटन समारोहमा विद्यार्थीहरुले आकर्षक रुपमा मार्च पास तथा नृत्य र अर्जुन आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुले एरोविक डान्स प्रस्तुत गरेका थिए । मार्च पासमा अर्जुन आवासिय माध्यमिक विद्यालय प्रथम, ब्रिलियण्ट युनाइटेड एकेडेमी द्वितिय र लिटिल पब्लिक स्कुल तृतिय भएका छन् । मार्च पासको मूल्याङ्कन गणेश अधिकारी, गीरीप्रसाद महाकिम र नारायण आचार्यले गर्नुभएको थियो । ७ माघ सम्म सञ्चालन हुने प्रतियोगितामा छात्राछात्र दौड, छात्र÷छात्राबीच कबड्डी, सटफुट, ज्यावलिन–थ्रो, हाइजम्प, भलिवल छात्र÷छात्रा, लक्जम्प, त्रिपल जम्प, मार्सल आर्ट, भलिबल प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन शत्रमा उपप्रमुख अमृतादेवि कुँवर, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्ली, प्रहरी उपरीक्षक राजन भुजेल, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, खेल शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, कर्मचारी, पत्रकार लगायतको आतिथ्यता रहेको थियो । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले गर्नुभएको थियो ।