भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई जितको लागि १५५ रनको लक्ष्य दिएको छ ।
भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा आफ्नो सबै विकेट गुमाउदै १५४ रन बनाएको छ । प्रहरीले आर्मीलाई सुरु देखि नै दबावमा राखेको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले पारीलाई सम्हाल्दै ७५ रन बढीको साझेदारी गरे पछि आर्मीले केही मध्यम स्कोर तयार गरेको थियो ।
आर्मीका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै ९ चौका र एक छक्काको सहयोगमा ८६ रन बनाए । कप्तान विनोद भण्डारीले २९ रन बनाए । यस्तै विवेक यादवले ११ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।
आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङ तर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा १ मेडेन सहित ३० रन खर्चेर ३ विकेट लिए । सागर ढकालले ८ ओभरमा २९ रन खर्चेर ३ विकेट लिदा कप्तान दिपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशी र गुलशन झाले समान १/१ विकेट लिए ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत यस पटक ४६ वटा खेलहरु खेलाईएको थियो । यी सबै खेल पहिलो पटक काठमाण्डौं बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तराष्ट्रिय रङ्गशालामा आयोजना भएको हो । प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको बिभागिय टोली सहित १० वटा टोलीहरुले सहभागीता जनाएका थिए ।