भैरहवा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका रुपन्देही जिल्लाका सम्पूर्ण सीमानाकाहरु ७२ घण्टाका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुधवार एक सूचना जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमानाका सिल गर्ने निर्णय गरेको हो ।
प्रशासनको सूचना अनुसार फागुन १८ गते सोमबार राति १२ बजेदेखि मतदानको दिन फागुन २१ गते बिहीबार राति १२ बजेसम्मका लागि नाका पूर्ण रुपमा बन्द रहनेछन् । यस ७२ घण्टाको अवधिमा नेपाल–भारत सीमा क्षेत्रबाट पैदलयात्री, मालवाहक ट्रक तथा यात्रुवाहक सवारी साधनहरुको आवतजावतमा पूर्ण रुपमा रोक लगाइनेछ । निर्वाचनको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक लिँदै यस अवधिमा सीमा क्षेत्रमा नेपाल र भारत दुवैतर्फ सुरक्षाकर्मीको उपस्थिति बढाई बाक्लो मात्रामा परिचालन गरिने प्रशासनले जनाएको छ ।
यसैगरी, निर्वाचनको समयमा आन्तरिक यातायातमा पनि कडा निगरानी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार फागुन २० गते बुधबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार मतदान कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभर अत्यावश्यक र अनुमति प्राप्त बाहेकका अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा निषेध गरिएको छ । यद्यपि, एम्बुलेन्स, दुग्ध बोक्ने ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा तथा विद्युत् सेवा जस्ता अत्यावश्यक क्षेत्रका सवारी साधनहरु भने निर्बाध रुपमा सञ्चालन हुन पाउनेछन् ।