बीपी मेमोरियल कप सुरु
उदघाटन खेलमा भारतको टिम ९ विकेटले विजयी

Ujyalosandeshonline 11164+ समाचार ( )
३ कार्तिक २०८१, शनिबार

भैरहवा । बिपी कोईरालाको स्मृतिमा भैरहवामा आज देखि बीपी कोइराला मेमोरियल कप, टी२० क्रीकेट प्रतियोगिता २०२४ सुरु भएको छ । 

शनिबार भएको पहिलो खेलमा भारतीय क्लब लाईफ केयर क्रिकेट क्लबले पाकिस्तानी क्लबलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । 

टस हारेर ब्याटिङ्गको निम्तो पाएको पाकिस्तानको जावेद इन्टरनेशनल स्पोर्ट्स एकेडमीले निर्धारित २० ओभर पनि खेल्न सकेन । १८ दशमलव १ ओभरमा आफ्ना सबै विकेट गुमाउदै पाकिस्तानले ८९ रन मात्र बनाउन सक्यो । उसको लागि सर्वाधिक रन रिसभ जोशीले बनाए । रिसभले ३१ बलको सामना गर्दै ४ छक्का र ३ चौकाको सहयोगमा ४६ रन बनाए। यस्तै पाकिस्तानका अलि हुसेनले २५ रन बनाउदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंक समेत जोड्न सकेनन् । 

बलिङ्ग तर्फ भारतका रोहित डाङ्गवलले ४ ओभरमा १९ रन खर्चिदै पाकिस्तानको ४ महत्वपूर्ण विकेट लिए । भारतकै योगेश कुमार र सक्षमले समान ३/३ विकेट लिए । 

९० रनको विजयी लक्ष्य सहित मैदान छिरेको भारतको लाईफ केयर क्रिकेट क्लबले ७ दशमलव ५ ओभरमा १ विकेट गुमाउदै विजयी भयो । आईपिएल खेलि सकेका भारतीय खेलाडी दिपक पुनियाले भारतको लागि ६४ रनको पारी खेले । उनले २५ बलको सामना गर्दै ६ छक्का र ६ वटा नै चौका प्रहार गरे । यस्तै दिपांशु फोरेले अविजित २१ रन र राजेश शर्माले अविजित २ रन बनाए । 

पाकिस्तानको लागि एक मात्र विकेट पाकिस्तानको राष्ट्रिय टोलीमा समेत रहेका ईमरान नाजिरले लिए । 

प्रतियोगितामा बांग्लादेशबाट गुलाज वरियर्स बांग्लादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११ रुपन्देही, लाइफ केयर क्रीकेट क्लब भारत, श्रीलंका स्टेट सर्विसेज क्रीकेट एसोसिएसनको टीम सहभागीता रहेको छ । 

बिजयी टिमलाई रु ५ लाख र उप बिजेता टिमलाई रु ३ लाख पुरस्कार रहेको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ ५ हजार प्रदान गरिनेछ । 

नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजित यो प्रतियोगिताले रुपन्देही मात्र नभइ नेपालकै क्रीकेटको विकासमा महत्वपूर्ण भुमिका निभाउने आयोजकको अपेक्षा रहेको छ । 




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार