रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ६, ललिपुर निवासी अब्दुल हलिम खाँ विगत साढे दुई वर्षदेखि श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहनु भएको छ । उहाँको नेतृत्वमा विद्यालयले भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अनुशासनको क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ । करिब १९ सय विद्यार्थी अध्ययनरत यस विद्यालयको शैक्षिक सुधार, भावी योजना र समसामयिक विषयमा केन्द्रित रहेर प्रधानाध्यापक खाँसँग विवेक विश्वकर्माले गर्नुभएको कुराकानीको सम्पादित अंश :
यहाँले विद्यालयको नेतृत्व सम्हालेको साढे दुई वर्ष भयो, सुरुवाती चरण र अहिलेको अवस्थामा के कस्तो परिवर्तन महसुस गर्नुभएको छ ?
मैले जिम्मेवारी सम्हालेपछि विद्यालयको भौतिक र शैक्षिक दुवै पक्षमा धेरै सुधार भएको छ । विशेषगरी हामीले स्वच्छ खानेपानी र शौचालयको उचित व्यवस्थापन गरेका छौं, जसले गर्दा विद्यार्थीहरूको स्वास्थ्य र सरसफाइमा सुधार आएको छ । विगतको तुलनामा अहिले विद्यार्थीहरूको उपस्थितिमा नियमितता छ । शिक्षकहरू बीचको आपसी एकता र अनुशासनले गर्दा विद्यालयको शैक्षिक वातावरण निकै सुदृढ बनेको छ ।
विद्यालयको शैक्षिक गुणस्तर र नतिजाको अवस्था कस्तो छ ?
शैक्षिक गुणस्तरमा हामीले ठूलो फड्को मारेका छौं । हामीले विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभई हरेक बिहान प्रार्थनाको समयमा आवश्यक निर्देशन दिने र प्रश्नोत्तरमार्फत उनीहरूको बौद्धिक क्षमता परीक्षण गर्ने गरेका छौं । यसको प्रत्यक्ष प्रभाव नतिजामा देखिएको छ । जस्तै, एसईई तर्फ उत्तीर्ण प्रतिशत २५ बाट बढेर ३५ पुगेको छ भने कक्षा १२ को नतिजा ५२ प्रतिशतबाट वृद्धि भई ७१ प्रतिशत पुगेको छ । यो सुधार हाम्रा लागि उत्साहजनक छ ।
यति धेरै विद्यार्थी र शिक्षकहरूको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
हाल विद्यालयमा ईसीडी देखि कक्षा १२ सम्म गरी १,८४९ जना विद्यार्थी र ६० जना शिक्षक–कर्मचारीहरू हुनुहुन्छ । व्यवस्थापनलाई चुस्त बनाउन हामीले प्रविधिको अधिकतम प्रयोग गरेका छौं । हरेक कक्षा कोठामा सीसी क्यामेरा जडान गरिएको छ, जसबाट मैले आफ्नै कार्यकक्षबाट प्रत्यक्ष निगरानी गर्छु । यसका साथै, शिक्षकहरूको विभिन्न उप–समितिहरू गठन गरिएको छ र म आफैं पनि दिनमा २–३ पटक कक्षाकोठाहरूको अनुगमन गर्छु । कुनै कक्षा खाली भए वा समस्या देखिए तत्काल समाधान गर्ने परिपाटी बसालेका छौं ।
विद्यालयमा प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण कस्तो पाउनुभएको छ ?
यो अलिकति गम्भीर विषय बनेको छ । विगतको तुलनामा प्राविधिक धारतर्फ विद्यार्थी संख्यामा केही कमि आएको छ । यसको मुख्य कारण प्राविधिक शिक्षा लिएपछि पनि रोजगारीको ग्यारेन्टी नहुनु हो । तैपनि, हामीले शैक्षिक सत्र सुरु हुनुअघि नै विभिन्न विद्यालयमा पुगेर प्राविधिक शिक्षाको महत्त्वबारे प्रचारप्रसार र अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं ।
विद्यालयमा अझै सुधार गर्नुपर्ने पक्ष वा भावी योजनाहरू के छन् ?
हाम्रो मुख्य लक्ष्य भनेको विद्यार्थीहरूको शैक्षिक जग बलियो बनाउँदै उनीहरूलाई देशका लागि योग्य नागरिक बनाउनु हो । विद्यार्थी संख्या अझ बढाउने र प्राविधिक शिक्षालाई रोजगारमूलक बनाउन पहल गर्ने हाम्रो योजना छ । भौतिक रूपमा हामीसँग राम्रो पुस्तकालय, कम्प्युटर ल्याब र हलहरू छन्, अब तिनको अधिकतम सदुपयोग गर्दै शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउनु मेरो प्राथमिकतामा छ ।
अन्त्यमा, परीक्षा नजिकिँदै गर्दा विद्यार्थी र अभिभावकलाई के भन्न चाहनुहुन्छ ?
अभिभावकज्यूहरूलाई मेरो विशेष अनुरोध छ– आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउनुहोस् र घरमा पनि उनीहरूको पढाइ, गृहकार्य र मोबाइल प्रयोगको निगरानी गरिदिनुहोस् । विद्यालयको प्रयासले मात्र पूर्ण सफलता मिल्दैन, यसमा अभिभावको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । अनि प्यारा विद्यार्थी भाइबहिनीहरू, समय बगेको पानी जस्तै हो, जुन कहिल्यै फर्किएर आउँदैन । तसर्थ, अहिलेको यो महत्त्वपूर्ण समयलाई खेर नफाली पढाइमा सदुपयोग गर्नुहोस् । अहिले मिहिनेत गर्नुभयो भने भविष्य उज्ज्वल हुनेछ ।