भैरहवा । चाडपर्व नजिकिँदै जाँदा उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै ओमसतिया गाउँपालिकाले बजार अनुगमन तीव्र पारेको छ । यसैक्रममा आज वडा नं. १ मा करिब २५ वटा पसलमा अनुगमन गरी अभियानको सुरुआत गरिएको छ । मासु, किराना र औषधि पसल लगायतका व्यावसायिक प्रतिष्ठानको वैधानिक दर्ता, वस्तुको गुणस्तर तथा म्याद सकिने मितिको गम्भीरतापूर्वक छानबिन गरिएको थियो। अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका अखाद्य सामग्रीहरू कानुनी प्रक्रिया पु¥याई मुचुल्का उठाइ जफत समेत गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले यो अभियान औपचारिकतामा मात्र सीमित नभई उपभोक्तालाई ठगिनबाट बचाउन नियमित रूपमा अन्य वडाहरूमा समेत सञ्चालन हुने स्पष्ट पार्नुभएको छ । साथै, हालसम्म सूचीकृत नभएका व्यवसायलाई निश्चित समयसीमा भित्र अनिवार्य रूपमा सूचीकरण हुन र नियम पालना नगरे कडा कारबाही गरिने चेतावनी दिइएको छ । गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरी र शाखा प्रमुखहरूको विशेष उपस्थितिमा भएको यस अनुगमनले स्थानीय बजारमा व्यापारीहरूलाई सचेत गराएको छ भने प्रशासकीय अधिकृत भुसालको सुशासनमुखी सक्रियताप्रति स्थानीयवासीले उच्च प्रशंसा गरेका छन् ।