रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५, सानो मझगावाँकी ४२ वर्षीया जुबेदा खातुनको हत्या घटनाप्रति विभिन्न क्षेत्रबाट गम्भीर ध्यानाकर्षण जनाइएको छ। घटनाका दोषीमाथि कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ। पूर्व सांसद प्रमोद यादवले सामाजिक सञ्जालमार्फत घटनाका दोषीलाई यथाशीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन्। साथै, उनले शोकाकुल परिवारप्रति गहिरो सम्वेदना प्रकट गर्दै यस असह्य विपद्को घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गरेका छन्।
गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–७ मा खातुनको शव फेला परेको थियो। घटना रहस्यमय र गम्भीर प्रकृतिको रहेकाले यसको सत्यतथ्य बाहिर ल्याउन सुरक्षा निकायहरू अनुसन्धानमा जुटेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार घटनाको गम्भीरतालाई मध्यनजर गर्दै संलग्न व्यक्तिहरूको पहिचान र खोजीका लागि विभिन्न कोणबाट विस्तृत रुपमा अनुसन्धान कार्य तीव्र पारिएको छ। प्रहरीले छिट्टै नै घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानुनको कठघरामा उभ्याउने प्रतिबद्धता जनाएको छ।
Right 👍