भैरहवा । रुपन्देही जिल्लामा उपभोक्ताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दै संयुक्त बजार अनुगमन कार्यलाई निकै तीव्रता दिइएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीको नेतृत्वमा रोहिणी गाउँपालिकाको धकधई र सिद्धार्थनगरको भैरहवा क्षेत्रका विभिन्न व्यवसायिक प्रतिष्ठानहरूको सूक्ष्म अनुगमन गरिएको हो।
अनुगमनका क्रममा मासु पसल, सुनचाँदी पसल, किराना तथा खाद्यान्न पसल, कस्मेटिक र होटलहरूको निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेको, न्यूनतम व्यावसायिक मापदण्ड पालना नगरेको र म्याद गुज्रिएका सामग्रीहरू खुलेआम बिक्रीमा राखेको पाइएको छ ।
टोलीले फेला पारेका म्याद नाघेका सामग्रीहरूलाई तत्कालै नियन्त्रणमा लिएर नष्ट गरेको छ भने मापदण्ड विपरीत सञ्चालित पसलहरूलाई बन्द गराइएको छ । धकधई बजारमा अनुगमन टोली पुगेको थाहा पाएपछि केही व्यापारीहरू आफ्नो सटर बन्द गरेर भागेका थिए । यसरी भाग्ने व्यापारीहरूका पसलमाथि विशेष निगरानी राख्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ।
यसैगरी, भैरहवाको हाटबजार क्षेत्रमा रहेका मासु पसलहरूमा मासुको अस्वच्छ भण्डारण र बिक्री वितरण भइरहेको पाइएकाले त्यस्ता व्यापारीहरूलाई कडा चेतावनी दिइएको छ । अनुगमनकै क्रममा बसपार्क नजिकैको एक होटल र डान्स बारमा शंकास्पद गतिविधि देखिएपछि होटल सञ्चालक र केही युवायुवतीलाई नियन्त्रणमा लिएर सोधपुछ समेत गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन अनुगमन कार्यलाई आगामी दिनमा पनि नियमित रूपमा अगाडि बढाउने बताउनुभएको छ । उहाँले व्यवसायीहरूलाई तत्काल आफ्नो कमजोरी सुधार गर्न सचेत गराउँदै निर्देशन अटेर गरेमा कडा कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको छ। साथै, जिल्ला प्रशासन कार्यालयले उपभोक्ताहरूलाई पनि सचेत रहन र सामग्री खरिद गर्दा गुणस्तर तथा म्याद जाँच गरेर मात्र उपभोग गर्न आग्रह गरेको छ।