काठमाडौँ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न गरेका एक हजार २९६ प्रशिक्षार्थी जवान दीक्षित भएका छन् । करिब ११ महिनाको तालिम पूरा गरेका प्रशिक्षार्थी जवान दीक्षित भई राष्ट्र र नागरिकको सेवामा समर्पित हुने उद्देश्यसहित आज कार्यक्षेत्रमा प्रवेश गरेका हुन् ।
माततीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानबाट १२३, झापास्थित पाथिभरा जवान तालिम शिक्षालयबाट ११७, सप्तरीस्थित दन्तकाली विशेष कार्य तालिम शिक्षालयबाट ११६, ककनीस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना तालिम शिक्षालयबाट २३३ र कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ११९ जना दीक्षित भएका छन् ।
यस्तै लामापाटनस्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयबाट ११५, बर्दघाटस्थित सीमा सुरक्षा तालिम शिक्षालयबाट १२५, नौबस्तास्थित सशस्त्र प्रहरी जवान तालिम शिक्षालयबाट ११६, टीकापुरस्थित राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालयबाट ११३ र कैलालीको वनभेहडास्थित बडिमालिका जवान तालिम शिक्षालयबाट ११९ जना प्रशिक्षार्थी जवान दीक्षित भएका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।