नवलपरासी । भारतीय बजारबाट भन्सार छली गरी नेपाल ल्याइएको रु १४ लाख ८४ हजार बराबरको अवैध मदिरा पश्चिम नवलपरासीमा प्रहरीले बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी, इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरको संयुक्त टोलीले सुस्ता गाउँपालिका–५ महलबारीबाट ११ वटा झोलामा ल्याइँदै गरेको अवस्थामा उक्त मदिरा नियन्त्रणमा लिएको हो । बरामद मदिरामा ‘ओल्ड मन्क’ रमका ७५० मिलिलिटरका सात सय ४२ बोतल रहेको र यसमा संलग्न व्यक्ति तथा गिरोहको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।