भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित मेडिकल कलेज सडक किनारबाट प्रहरीले १८ ग्राम खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१ का २० वर्षीय अफजल पठानलाई पक्राउ गरेको हो। उनको साथबाट १८ ग्राम खैरो हेरोइन र एक थान मोबाइल बरामद गरिएको ब्युरोले जनाएको छ।
पक्राउ परेका पठानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको छ। लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार उक्त परिणामको खैरो हेरोइन कसुरमा पाँचदेखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।