काठमाडौँ । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको छ। भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने अनुमान गरिए पनि वर्षा, हिमपात र हावाहुरीको सम्भावना यथावत् रहेकाले पूर्वतयारी तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सम्भावित जोखिमबाट बचाउन सुरक्षा निकायहरूले माइकिङमार्फत सचेतना फैलाइरहेका छन् भने पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले मौसमको अध्यावधिक विवरण हेरेर मात्र पदयात्रा तथा पर्वतारोहणको निर्णय लिन आग्रह गरेका छन्। यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल, धावनमार्ग र सञ्चार प्रणालीलाई पूर्ण तयारीमा राख्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयहरूले पनि सुरक्षा सतर्कता बढाएका छन्। सरकारले भ्रामक अफवाहको पछि नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न र आवश्यक सजगता अपनाउन सर्वसाधारणमा अपिल गरेको छ।