भैरहवा । नेपाल–भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायहरू सक्रिय रहेको दाबी गरिए पनि ठूलो परिमाणका अवैध सामान भारतीय भूभागमै पक्राउ पर्न थालेपछि सीमा सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठ्न थालेको छ । भारतीय प्रहरी र सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले महराजगञ्जको निचलौल क्षेत्रबाट ७५ बोरा फर्सीको बीउ र एउटा पिकअप भ्यानसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारत महराजगञ्जका प्रहरी प्रमुख एसपी शक्ति मोहन अवस्थीको निर्देशनमा सञ्चालित तस्करी विरोधी अभियानअन्तर्गत निचलौल थाना क्षेत्रको पुलबाट गेंडहवातर्फ जाँदै गरेको अवस्थामा उक्त अवैध सामान बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति र बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि नौतनवा भन्सार कार्यालय पठाइएको छ । यद्यपि, नेपालतर्फ पनि सुरक्षा निकायहरूको बाक्लो उपस्थिति र नियमित रूपमा विभिन्न किसिमका सामानहरू पक्राउ पर्ने गरेको भए पनि नेपालबाटै लगिएका यस्ता मालसामानहरू भारतीय दशगजा तथा सीमावर्ती क्षेत्रमा सहजै पुगेर पक्राउ पर्नुले स्थानीयस्तरमा चिन्ता र चर्चाको विषय बनाएको छ ।
विशेष गरी नवलपरासी र रूपन्देहीसँग जोडिएका सीमानाकाहरूबाट पछिल्लो समय तस्करीका गतिविधि तीव्र रूपमा बढेको स्थानीय बासिन्दाको गुनासो छ । यसअघि रूपन्देहीसँग जोडिएको भारतीय नाका सुनौली नजिकैबाट पनि ठूलो मात्रामा फर्सीको बीउ बरामद भएको घटना सेलाउन नपाउँदै पुनः अर्को ठूलो परिमाणको बीउ पक्राउ पर्नुले सीमावर्ती क्षेत्रमा अवैध व्यापारको सञ्जाल अझै सक्रिय रहेको पुष्टि गरेको छ । नेपालतर्फको निगरानी केही हदसम्म भए पनि प्रभावकारी र कडा सुरक्षा व्यवस्था नहुँदा तस्करहरूले सहजै सामान सीमापार गराउन सफल भएको भन्दै स्थानीय स्तरमा सुरक्षा निकायको भूमिकामाथि आलोचना सुरु भएको छ ।