भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक सडक, फुटपाथ वा क्षेत्राधिकारभित्र थ्रेसर मेसिन राखेर धान झाँट्ने तथा काट्ने कार्यमा पूर्ण रोक लगाएको छ । धान भित्र्याउने मौसम सुरु भएपछि सडक किनारमा थ्रेसर चलाउँदा दुर्घटनाको जोखिम बढेको र खेतमा पराल जलाउँदा वायु प्रदूषण तथा आगलागीको खतरा बढेको भन्दै नगरपालिकाले यो निर्णय गरेको हो । नगरप्रमुख रामकृष्ण खाणले थ्रेसिङ कार्य आफ्नै निजी खेत वा सुरक्षित स्थानमा मात्र गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ ।
साथै, खेतमा पराल वा ठुटामा आगो नलगाई कम्पोष्ट मल बनाउन वा पशुआहारमा प्रयोग गर्न अनुरोध गरिएको छ । नियमको अवज्ञा गरी सार्वजनिक सडकमा थ्रेसर प्रयोग गरेको वा परालमा आगो लगाएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ । फोहोरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण संरक्षण ऐन, २०७६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिधिभित्र रही वातावरण र जनस्वास्थ्यको रक्षा गर्न नगरपालिकाले सबैमा अपिल गरेको छ ।