लुम्बिनी । लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खानसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का ६१ वर्षीय खान र वडा नम्बर ९ का ३३ वर्षीय वाजिउद्दिन मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त भएपछि त्यसको विरोधमा आन्दोलन गर्दै आएका उनीहरूलाई रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । महाअभियानका सहसंयोजक रामविकास चौधरीले भने मध्यरातमा घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको दाबी गर्दै घटनाको भर्त्सना गर्नुभएको छ । महाअभियानले संयोजक खानमाथि गरिएको धरपकडको विरोध गर्दै उहाँलाई निःसर्त रिहा गर्न माग गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।