चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि केन्द्रीय समिति सदस्यहरूको उम्मेदवारी दर्ता कार्य जारी रहेको छ । महाधिवेशनको बन्दसत्र अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भोलि बिहान ९ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
यसैबीच, पार्टीका संस्थापक सभापति रवि लामिछाने महाधिवेशनपछि पहिलो कार्यकालका लागि पुनः सभापति चयन हुने निश्चित भएको छ । पहिलो महाधिवेशनमा उनलाई निर्विरोध सभापति बनाउने पार्टीभित्र आन्तरिक समझदारी जुटेसँगै उनले सभापति पदमा आफ्नो एकल मनोनयन दर्ता गराएका हुन् । रास्वपाको नयाँ विधानअनुसार लामिछाने दुई कार्यकालसम्म सभापति बन्न सक्ने व्यवस्था गरिएको छ ।