मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


छाडा पशु व्यवस्थापनको प्रतिवेदन बुझ्दै मुख्यमन्त्रीले भने– ‘गौशालालाई नश्ल सुधार र मल उत्पादन केन्द्र बनाउनुपर्छ’

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ मंगशिर २०८२, सोमबार

दाङ । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले छाडा पशु व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको छ । सरकारका प्रवक्ता तथा कृषिमन्त्री दिनेश पन्थीको संयोजकत्वमा बनेको समितिले स्थलगत अवलोकन, तथ्यांक संकलन, अन्तरक्रिया र सरोकारवालासँगका छलफलपछि उक्त प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री आचार्यले छाडा पशु व्यवस्थापनका लागि बनाइने विधेयकलाई हिउँदे अधिवेशनमै पेश गर्न निर्देशन दिनुभयो । उहाँले समुदायसँग सहकार्यमा गौशालालाई व्यवस्थित बनाउनुपर्ने र भविष्यमा नश्ल सुधार तथा जैविक मल उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्ने आधार रहेको बताउनुभयो । ‘भविष्यमा ती गौशालाई नश्ल सुधारका लागि प्रयोग गर्न सकिन्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रदेशलाई चाहिने पशु चौपाया यिनै गौशालाबाट पुरा गर्न सक्ने आधार रहन्छ ।

जैविक मलको केन्द्र पनि बन्न सक्ने भएकाले यसलाई दीर्घकालीन योजनाका साथ अघि बढाउन जरुरी छ ।’अध्ययनले लुम्बिनी प्रदेशमा करिब १२ हजार ७ सय ३२ छाडा चौपाया रहेको तथ्यांक प्रस्तुत गरेको छ । प्रदेशमा अझै करिब ४ हजार चौपाया व्यवस्थापन बाहिर रहेकाले कानूनी संरचना र सहकार्यलाई परिणाममुखी बनाउनुपर्ने प्रतिवेदनले जोड दिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।प्रदेशमा सञ्चालनमा रहेका ३९ गौशालाको क्षमता ११ हजार ६ सय ७७ भए पनि अहिले ८ हजार ९ सय ९५ चौपाया मात्र व्यवस्थापन भएका छन् । थप २ हजार ६ सय ८२ चौपाया राख्न सकिने भए पनि करिब १ हजार चौपाया अझै व्यवस्थापन बाहिर रहने देखिएको प्रतिवेदनमा उल्लेख छ । 

गौशालामा पशु व्यवस्थापन गर्दा प्रति चौपाया एक सय रुपैयाँ खर्च आउने उल्लेख गरिएको छ । ५० चौपायाको दैनिक रेखदेख, घाँस र दानापानीका लागि एक जना जनशक्ति आवश्यक पर्ने बिषय समेत प्रतिवेदनमा समेटिएको कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका निमित्त सचिव अनिल मरासिनीले जानकारी दिनुभयो । तराईका जिल्लामा समस्या सबैभन्दा गम्भीर देखिएको छ । धेरै गौशालामा दाना–पानी, जनशक्ति र पशु स्वास्थ्य सेवाको अभाव छ। घाइते, रोगी र अत्यन्त कमजोर अवस्थामा रहेका पशुको व्यवस्थापन चुनौतीपूर्ण रहेको प्रतिवेदनले बताएको छ ।

तीन तहका सरकारबीच छाडा पशु व्यवस्थापन कसको प्राथमिक जिम्मेवारी हो भन्ने विषयमा स्पष्टता अझै नआएको, निजी वा धार्मिक संस्थाद्वारा सञ्चालित गौशालामा सरकारी लगानीका लागि कानूनी आधार अस्पष्ट भएको जस्ता चुनौती प्रतिवेदनले औंल्याएको छ । गोबर–मूत्रको प्रविधिमूलक उपयोग, जैविक मलको परीक्षण र बजार व्यवस्थापन कमजोर रहेको, नागरिक स्तरमा दायित्वबोध नबढ्दा रातारात पशु छाड्ने प्रवृत्ति बढेको उल्लेख छ ।

गाईलाई साँस्कृतिक र धार्मिक रूपमा सम्मान गर्ने परम्परा भएकाले संरक्षणका प्रयासलाई सहज बनाउन सकिने प्रतिवेदनमा उल्लेख छ । केही गौशालाले दूध, मल, बायोग्यास र जडीबुटीजन्य उत्पादनमार्फत आत्मनिर्भरता बढाएको उदाहरण समेत समेटिएको छ । समितिले प्रदेशले सशर्त बजेटमार्फत गौशाला पूर्वाधार निर्माणमा सहयोग गर्ने, स्थानीय तहले जग्गा र घाँस व्यवस्थापनमा नेतृत्व लिनुपर्ने, पशु ट्यागिङ अनिवार्य गर्ने र गौशालामा पशु दिन चाहनेबाट ५ हजार रुपैयाँ सहयोग लिने व्यवस्था मिलाउन सुझाव दिएको छ ।

जैविक मल र मूत्रको प्रशोधन तथा बजार व्यवस्थापनमा सुविधा, नमूना कानून बनाएर स्थानीय तहलाई कार्यान्वयनमा मार्गदर्शन गर्ने प्रस्ताव पनि प्रतिवेदनमा समावेश छ । विधेयक पारित भएपछि छाडा पशु व्यवस्थापनमा प्रदेश र स्थानीय तहबीच स्पष्ट भूमिकासहित समन्वय बढ्ने, सडक दुर्घटना र बाली नष्ट हुने समस्या घट्ने, पशु स्वास्थ्य सेवा सुधारिने र गौशाला क्रमशः आत्मनिर्भर बन्दै जाने प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार