भैरहवा । तीन जना महिलालाई बेचबिखन गर्न खोजेको आरोपमा ८ वर्षदेखि फरार रहेकी एक महिलालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-११, न्यु दुर्गानगरकी ४६ वर्षीया विष्णु माया शर्मा परियार रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार परियारले २०७४ साल वैशाख ७ गते ३ जना महिलालाई भारत हुँदै कुवेत लैजान लागेकोमा उनीविरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता भएको थियो। घटना भएदेखि नै उनी फरार थिइन्।
इलाका प्रहरी कार्यालय, बुटवलबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनलाई बुटवल-११ स्थित लुकीछिपी बसेको अवस्थामा आज पक्राउ गरेको हो। पक्राउ परेकी परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।